एमाले एक्लै चुनाव लड्छ, माओवादी केन्द्रसँग तालमेल गर्दैन : विष्णु पौडेल

काठमाडौं । चुनावी तालमेलका लागि एमालेले प्रस्ताव गरेको माओवादी केन्द्रका नेताहरुको दाबीप्रति उपाध्यक्ष विष्णु पौडेलले आपत्ति जनाएका छन् । एमालेले एक्लै चुनाव लड्ने उनको दाबी छ ।

एमालेसित वार्ता छलफल भइरहेको छ भन्ने प्रचार गरेर माओवादीले अन्तै बार्गेनिङ गर्न खोजेको भन्दै उनले भने, ‘एमालेले माओवादीका नेता या कार्यकर्तासँग औपचारिक या अनौपचारिक रुपमा कुनै पनि प्रकारको छलफल गरेको छैन । छलफल गर्नुपर्ने आवश्यकता पनि देखेको छैन ।

स्थानीय मात्र होइन, प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमालेले माओवादी केन्द्रसँग तालमेल नगर्ने उनको दाबी छ ।

प्रस्तुत छ, एमाले उपाध्यक्ष विष्णु पौडेलसँग अनलाइनखबरकर्मी बिनु सुवेदीले गरेको कुराकानीको सम्पादित अंशः

स्थानीय चुनावको तयारी कस्तो भइरहेको छ ?
निर्वाचनसम्बन्धी तयारी व्यवस्थित र प्रभावकारी रुपमा अगाडि बढिरेहको छ । ७५३ वटै पालिकामा निर्वाचन केन्द्रित कार्यक्रम सञ्चालन गरिरहेका छौं । मतदाता नामावली र उम्मेदवारको विश्लेषण गरिरहेका छौं । घोषणापत्र तथा प्रतिबद्धता पत्रको तयारी अन्तिम चरणमा पुर्‍याएका छौं, उम्मेदवार चयनका प्रक्रिया अगाडि बढेका छन् । नोमिनेसनपछि हामी प्रचारमा केन्द्रित हुन्छौं ।

एमालेको सिंगो पंक्ति विगतमा आफ्नो नेतृत्वको सरकारले गरेका राम्रा कामको विवरण र आउने दिनहरुमा गर्ने कामको प्रतिबद्धता लिएर जनतामाझ जान्छौं । हामी यो निर्वाचनमा सानदार सफलतातर्फ उन्मुख छौं । पालिकाका पदाधिकारी र सदस्यहरुमा ७० प्रतिशत जित्छौं । प्रतिकुलता थपियो भने पनि न्यूनतम ६० प्रतिशत पालिकाहरुमा पदाधिकारी र सदस्य जित्छौं ।
एमालेले तालमेलका निम्ति कसैसँग कुनै प्रकारको औपचारिक या अनौपचारिक कुराकानी गरेका छैनौं ।यसपटकको चुनावमा एमाले एक्लै लड्छ, सानदार सफलता प्राप्त गर्छ पनि
विरासत राम्रो भएपनि वर्तमान त राम्रो छैन । पार्टी फुटेको छ, यस्तो बेला तपाईंले भनेको परिणाम त कसरी आउला ?

फुटेको होइन, पार्टीको सुकेको बोक्रा उप्केको हो । रुखमा सुकेका बोक्राहरु उप्किछन् । बुढा पातहरु झर्छन् । त्यस्ता मात्रै हो । विचार, संगठन र जनतामा परेको प्रभावका हिसाबले नेकपा एमाले फुटेको छैन ।
अर्को, अहिले विभिन्न राजनीतिक दलबाट कार्यकर्ता, सांसद, स्थानीय जनप्रतिनिधिहरुको नेकपा एमाले प्रवेशको असाधारण लहर चलेको छ । त्यसैले आउने निर्वाचनमा ०७४ सालको स्थानीय निर्वाचन भन्दा गुणात्मक उचाइबाट सफलता हाँसिल गर्छाैं । जहाँसम्म सरकारबाट बाहिरिएको प्रशंग छ, हामीले सरकार बाहिर रहँदै चुनाव जितेका छौं । नेकपा एमालेलाई चुनाव जित्न सत्ता वा सरकार चाहिँदैन । ०७४ सालको स्थानीय निर्वाचनमा पनि एमाले प्रतिपक्षमा थियो, कांग्रेसको नेतृत्वमा सरकार थियो । एमालेविरुद्ध गठबन्धन गरेका थिए । एमाले एक्लै लड्यो, जित हासिल गर्यो, सरकारमा रहेर गठबन्धन गरेकाहरु पराजित भएका थिए ।

सुकेका बोक्रा, झरेका पात भन्ने, उनीहरुसँगै तालमेल गरौं भनेर छलफल गरिरहने ? यो त द्वैध चरित्र भयो नि ?
यसपटकको चुनावमा एमाले एक्लै लड्छ, सानदार सफलता प्राप्त गर्छ पनि । एमालेले तालमेलका निम्ति कुनै छलफल आरम्भ गरेको छैन । कसैसँग कुनै प्रकारको औपचारिक या अनौपचारिक कुराकानी पनि गरेका छैनौं । तालमलेका निम्ति कुराकानी गर्ने मुडमा पनि छैन एमाले ।

एमाले नेताहरुले नै मिलेर चुनाव लडौं भनिरहेका छन् भनेर माओवादी केन्द्रका नेताहरुले भनिरहेका छन् त ?
उहाँहरुले किन गतल सूचना संप्रेषण गर्नुभएको छ थाहा छैन । एमालेले नेकपा माओवादी केन्द्रसँग चुनावमा तालमेल गर्ने प्रयोजनका लागि औपचारिक या अनौपचारिक रुपमा कुनै पनि तहमा सम्वाद गरेको छैन । म प्रष्ट भन्न चाहन्छु, सम्वाद गर्नुपर्ने आवश्यकता पनि देखेको छैन । किनकी यो निर्वाचनमा माओवादी केन्द्रसँग नेकपा एमालेको कुनै पनि तालमेल हुँदैन ।

त्यसो भए माओवादी केन्द्रका नेताहरले गरेको छलफल केका लागि हो त ?
छलफल भएको छ भन्ने प्रचार नै गलत छ । एमालेले माओवादीका नेता या कार्यकर्तासँग औपचारिक या अनौपचारिक रुपमा कुनै पनि प्रकारको छलफल गरेको छैन । छलफल गर्नुपर्ने आवश्यकता देखेको छैन, चुनावी तालमेलको त सम्भावनै छैन । एमालेले माओवादी केन्द्रसँग चुनावी तालमेल गर्दैन ।

तपाईंहरुको तर्फबाट नभए पनि माओवादी केन्द्रको तर्फबाट चाहिँ भएको हो कि त ?
नजर कहीं, निशाना कहीं भन्छन् नि ! एमालेसित वार्ता छलफल भइरहेको छ भन्ने समाचार सम्प्रेषण गरेर कहीं कतै बार्गेनिङ गर्दै हुनुहुन्छ सायद । एमसीसी पास हुनुअघि पनि त्यस्तै गर्नुभएको थियो ।

माओवादी केन्द्रका नेताहरुले नेकपाको शक्तिशाली सरकार सरकार गिराएर जुन प्रकारको कामकारबाही गर्नु भएको छ, यसबाट उहाँले गठबन्धन निर्माण गर्नुका उदेश्य स्पष्ट छ । यस्तो अवस्थामा उहाँहरुसँग वार्ता वा सहमतिको कुनै सम्भावना छैन ।
तपाईंहरु चीन जानुभयो, माओवादी केन्द्रका नेता देव गुरुङ पनि जानुभयो । त्यहाँबाट फर्किएपछि वाम तालमेलको चर्चा भइरहेको छ । कुनै आधार नभई त्यसै चर्चा भएको होला र ?

हामी चीन किन र के प्रयोजनका लागि गयौं भन्ने स्पष्टसँग भनेकै छु । आर्थिकसम्बन्धी कार्यक्रममा भाग लिन हामी गएका थियौं । भाग लियौं र आयौं । यसको माओवादीसित तालमेलसँग यसको कुनै सम्बन्ध छैन, अर्थ पनि छैन ।

उहाँहरुले त मिल्ने नमिल्ने हाम्रो कुरा हो, तर चीनले एकता होस् भन्ने सद्भाव राखेको छ भन्नु भएको छ त ?

नेकपा एमाले स्वतन्त्र ढंगले विचार निर्माण गर्ने पार्टी हो । नेकपा एमाले आफ्ना बारेमा स्वतन्त्र ढंगले आफैं लिन्छ । कुनै मित्र वा छिमेकी राट्रको सहयोग लिएर निर्णय गर्छौं भन्ने होइन । एमालेलाई अरु कसैको सल्लाह लिनुपर्ने आवश्यकता पर्दैन ।

उहाँहरुले नै सल्लाह लिनुहुन्छ होला, त्यस्तो आवश्यकता महसुस गर्नुहुन्छ होला । तर नेकपा एमाले अरु कसैको सल्लाहमा चल्ने पार्टी होइन । स्वतन्त्र निर्णय र स्वतन्त्र विश्लेषणका आधारमा आवश्यक निर्णय गर्दै अगाडि बढ्ने पार्टी हो ।

सत्ता गठबन्धनको बैठकमा पनि माओवादी केन्द्रका अध्यक्षले एमाले नेताहरुसँग कुराकानी भइरहेको छ भन्नुभयो, वर्षमान पुनले पनि त्यही खालको कुरा गर्नुभएको छ । तपाईंको कुरा फरक आयो, खासमा भएको के हो ?
मेरो जानकारीमा भएसम्म एमालेसँग कुनै पनि प्रकारको वार्ता र सम्वाद भएको छैन । वार्ता सम्वादको सम्भवाना पनि देख्दिनँ । किनकी वार्ता सम्वादबाट कुनै निष्कर्ष निस्कने सम्भावना छैन ।
स्थानीय तहभन्दा पछाडि चाहिँ एकता वा तालमेलको सम्भावना छ ?यस्तो अवस्थामा उहाँहरुले एमालेसँग वार्ता भएको छ भन्ने प्रचार गर्नुको अर्थ र उद्देश्य के हो त्यो त हामीले पनि बुझ्न सकिरहेका छैनौं ।

माओवादी केन्द्रका नेताहरुले नेपालमा कम्युनिष्ट पार्टी (नेकपा) को (झण्डै दुई तिहाईको) शक्तिशाली सरकार गिराएर जुन प्रकारको गठबन्धन गर्न योगदान गर्न पुग्नुभएको छ । त्यो सरकारविरुद्ध जुन प्रकारको कामकारबाही गर्नु भएको छ, यसबाट उहाँले गठबन्धन निर्माण गर्नुका उदेश्य स्पष्ट छ । यस्तो अवस्थामा उहाँहरुसँग वार्ता वा सहमतिको कुनै सम्भावना छैन । यो स्थानीय तह चुनावमा पनि छैन, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि छैन ।

कतिपय स्थानमा कांग्रेससँग चाहिँ तालमेल हुनसक्छ ?

यो निर्वाचन भइरहँदा मैले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको कुरा गरिरहेको छु । यी सबै निर्वाचनमा नेकपा एमाले एक्लै निर्वाचन लड्छ, एक्लै बहुमत प्राप्त गर्छ । एक्लै सरकारको नेतृत्व गर्ने हैसियतमा जनताबाट अनुमोदित हुन्छ ।

०६४ मा पनि त्यही भन्दा एमाले तेस्रो दल बन्यो । त्यसैले अहिले बाहिर चर्को कुरा गरेपनि भित्रभित्र हामीसँग तालमेलका लागि इच्छुक छ भन्छन् नि माओवादी नेताहरु ?

निर्वाचन २०६४ मा मात्रै भएको थिएन । त्यसपछि पनि निर्वाचन भएका छन् । हरेक निर्वाचनका आ–आफ्ना अनुभव छन् । अहिले दक्षिणपन्थी, यथास्थितिवादीको पछाडि लागेको, त्यसलाई काँध दिइरहेको माओवादीसँग सम्वाद र चुनावी तालमेलको कुनै सम्भावना छैन् ।

२०७४ मा जस्तै अध्यक्ष अध्यक्षबीच सहमति हुने होला नि त ?

त्यस्तै कहिले भएको थिएन, हुँदा पनि हुँदैन ।
@अनलाइनखबर

फेसबुकबाट तपाइको प्रतिक्रिया