राप्रपा अध्यक्ष लिङ्देनले गरे गृहजिल्ला झापामा शक्ति प्रदर्शन

झापा । राप्रपाले झापामा शक्ति प्रदर्शन गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनसहित राजनीतिक हेबिवेट नेताहरुको गृहजिल्ला झापामा आइतबार राप्रपाले गरेको शक्ति प्रदर्शनमा हजारौँ मानिसको सहभागिता थियो ।

एमाले अध्यक्ष केपी ओली, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र कृष्णप्रसाद सिटौलासहित नेताको गृहजिल्ला रहेको झापामा शक्ति प्रदर्शन गरेर लिङ्देनले आफ्नो दमदार उपस्थिति देखाएको स्थानीयले बताए । २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र ३ मा कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका लिङ्देनले शक्ति प्रदर्शन गरेर प्रतिस्पर्धी दलहरूलाई ठूलो चुनौती दिएका छन् ।

गत स्थानीय तह निर्वाचनमा विजय प्राप्त गरेको कचनकवलको बनियानीमा आइतबार राप्रपाले विशाल आमसभा गरेको हो । सो आमसभामा हजारौँ मानिस सहभागी भएर लिङ्देनको नेतृत्वलाई अनुमोदन गरेको राप्रपा नेताहरुले बताएका छन् । गत मंसिरमा पार्टीको सम्पन्न महाधिवेशनमा कमल थापालाई पराजित गरेर लिङ्देन अध्यक्षमा निर्वाचित भएका थिए । काँग्रेस, एमाले, माओवादीसहितका दलहरुलाई चुनौतीका रुपमा देखिएका लिङ्देन आगामी निर्वाचनमा कमजोर उम्मेदवार होइनन् भन्ने देखिएको छ ।

२०६३ सालमा तत्कालीन पुनर्स्थापित प्रतिनिधिसभाले गरेको ‘प्रतिनिधिसभा घोषणा’मा देशलाई धर्मनिरपेक्ष राष्ट्र र गणतन्त्र घोषणा गराउने कार्यमा अग्रणी भूमिका खेलेका कांग्रेस नेता सिटौलालाई पराजित गरेका लिङ्देनले संवैधानिक राजतन्त्र र सनातन हिन्दु राष्ट्रबिना देशको विकास र समृद्धि सम्भव नरहेको बताए । सभालाई लिङ्देनसहित प्रदेश १ का अध्यक्ष राम थापा लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

आउँदो ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनको तयारी स्वरुप राप्रपासहित विभिन्न राजनीतिक दलहरुले राजनीतिक गतिविधि गरिरहेका छन् । नयाँ नेतृत्व पाएको राप्रपाका कार्यक्रममा मानिसको व्यापक सहभागिताले अन्य दललाई चुनौती थपिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया