चोभार बन्दरगाह : काठमाडौंलाई अन्तर्राष्ट्रिय व्यापारको हब बनाउने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चाेभार बन्दरगाह सञ्चालनले काठमाडौंलाई अन्तर्राष्ट्रिय व्यापारकाे हब बनाउने बताएका छन् । मंगलबार चाेभारस्थित नवनिर्मित बन्दरगाहको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो धारणा राखेका हुन् ।
चोभार बन्दरगाह सञ्चालन पछि काठमाडौं अब अन्तर्राष्ट्रिय व्यापारकाे हब बन्ने प्रधानमन्त्री देउवाको भनाइ थियो ।

सुख्खा बन्दरगाह सञ्चालनमा आएपश्चात मुलुकको आयात-निर्यात व्यापारमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने काठमाडौं उपत्यकाबाट हुने व्यापारलाई थप सहजीकरण गर्न, व्यापारको लागत घटाउन र वस्तु तथा सेवाको आयात निर्यातलाई थप व्यवस्थित गरी प्रतिस्पर्धा र प्रभावकारी बनाउन सहयोग पुग्ने प्रधानमन्त्रीको भनाइ छ । काठमाडौंलाई अन्तर्राष्ट्रिय व्यापारको हबको रुपमा विकास गर्न यो बन्दरगाह कोसेढुंगा सावित हुने उनले बताए ।

प्रधानमन्त्री देउवाले मुलुकको वैदेशिक व्यापारलाई दिगो र सन्तुलित रुपमा विकास गर्न सुख्खा बन्दरगाह जस्ता संरचनाहरुको आवश्यकता पर्ने बताए । उनले बढ्दो व्यापार घाटालाई कम गर्न स्वदेशी कच्चा पदार्थ, स्वदेशी श्रम र सीपमा आधारित उत्पादनमा जोड दिनुपर्ने बताए । वैदेशिक व्यापारमा रहेका समस्या समाधानका निम्ति सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको प्रधानमन्त्री देउवाको भनाइ थियो ।

उनले उद्योगी, व्यवसायीलाई उत्पादनशील क्षेत्रमा लगानी गरी निर्यात बढाउन र अनुत्पादक विलासिताका वस्तु आयातलाई व्यवस्थापन गर्न सहयोग गर्न आग्रह पनि गरे । उनले भने, ‘बढ्दो व्यापार घाटालाई कम गर्न हामीले एकातिर स्वदेशी कच्चा पद्धार्थ र स्वदेशी श्रम र सीपमा आधारित उत्पादनमा जोड दिनुपर्ने अवस्था छ । यसको अतिरिक्त वैदेशिक व्यापारमा विद्यमान प्रक्रियागत जटिलतालाई न्यूनिकरण गर्दै लानुपर्ने अवस्था छ । वैदेशिक व्यापारमा रहेका विभिन्न प्रकारका समस्या समाधान गर्न सरकार निजि क्षेत्रसँग सम्वाद, सहकार्य गर्न तयार छ ।

प्रधानमन्त्री देउवाले नेपालमा रेल आवश्यक भएपनि बनाउन धेरै खर्च लाग्ने बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया