रामेछापको स्थानीय तहमा सत्ता गठबन्धनले तालमेल गर्ने, मन्थलीमा नेकपा एसको दावी

रामेछाप । स्थानीय तहमा चुनावी तालमेल गर्ने सत्ता गठबन्धनको समझदारीसँगै रामेछापको मन्थली नगरपालिकामा नेकपा एकीकृत समाजवादीले दावी गर्ने भएको छ । गत निर्वाचनमा एमालेबाट निर्वाचित नगरप्रमुख रमेश कुमार वस्नेत एकीकृत समाजवादीमा प्रवेश गरेसँगै आगामी स्थानीय तहको चुनावमा दावी गरेको हो ।

एकीकृत समाजवादी रामेछापका अध्यक्ष एवं मन्थली नगरपालिकाका नगरप्रमुख रमेक कुमार वस्नेतले मन्थली नगरपालिकामा आफूहरुकाे स्वभाविक रुपमा दावी रहेको रामेछाप न्युजलाई बताए । उनले भने,‘गत निर्वाचनमा जहाँ जुन दलले जितका छन, त्यहाँ स्वभाविक रुपमा दावी रहन्छ, मन्थली नगरपालिकाको प्रमुखमा हाम्रो दलको दावी छ ।

जिल्लाको स्थानीय तहमाकाे निर्वाचनमा माओवादी र कांग्रेसलाई जित्नका लागि समाजवादीको मत निर्णायक हुने बताउदै सत्ता गठबन्धनबीच निर्माण हुने समझदारीले चुनावी तालमेलको विषय स्पष्ट हुने बताए । मन्थली नगरपालिकामा कांग्रेसले पनि नगर प्रमुखमा दावी गर्दै आएको छ ।

नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ कान्छारामले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रामेछापमा चुनावी गठबन्धन गरेर जाने बताएका छन् ।उनले आज पार्टीको पदाधिकारी बैठक बसेर गठबन्धनको लागि गृहकार्य अघि बढाइने बताएका हुन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया