आचारसंहिता उलंघन गर्ने जोकोहीलाई कारबाही गर्ने आयोगको चेतावनी

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उलंघन गर्ने जोकोहीलाई पनि कारबाही गर्ने चेतावनी दिएको छ ।

शुक्रबार निर्वाचन आचारसंहिता लागू भएको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता उलंघन गर्ने काम क्षम्य नहुने भन्दै उनीहरुमाथि निर्वाचन कसुर कानुन बमोजिम कारबाही हुने बताए ।

निर्वाचनको आचारसंहिता उलंघन गर्ने काम निर्वाचन कसुर हुने भएकाले त्यस्ता दल र उम्मेदवारलाई कारबाही गर्न आयोग सदैव तयार रहेको पनि उनले प्रष्ट पारे ।

‘निर्वाचन आचारसंहिता कार्यान्वयन हुन्छ भन्ने कुरामा कुनै पनि शंका छैन । यदि कसैले आयोग समक्ष र विभिन्न गोष्ठी र कार्यक्रममा र तपाईँहरु (पत्रकार)सँग चाहिं कार्यान्वयन गर्छ भन्यो । तर भित्रभित्रै उलंघन गर्न उद्यत भयो भने त्यो निर्वाचन कसुर हुन्छ,’ उनले भने, ‘निर्वाचन कसुरमा कानुन बमोजिम कारबाही गर्न आयोग तयार छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया