
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७८ को माध्यमिक शिक्षा परीक्षा एसईई आउँदो शुक्रबारदेखि सञ्चालन गर्दैछ । ९ वैशाखदेखि सुरु हुने परीक्षका लागि बोर्डले २ हजार ७ परीक्षा केन्द्र र एक उपकेन्द्र तोकिएका छ ।
विगत दुई वर्ष कोरोना महामारीका कारण आन्तरिक मूल्याङ्कनलाई नै प्रमाणिकरण गरेको बोर्डले यो वर्ष भने भौतिक रुपमा परीक्षा गर्न लागेको हो । परीक्षाको लागि प्रश्नपत्र, उत्तरपुस्तिका लगायत परीक्षा सामग्री ७७ ओटै जिल्लामा पुगिसकेको एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए ।
जिल्ला परीक्षा व्यवस्थापन समितिले एसईईका लागि केन्द्राध्यक्ष तोक्ने तथा प्रशिक्षण दिने काम गरिरहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । एसईई परीक्षा नियन्त्रण कार्यालयका अनुसार २०७८ को एसईईमा कुल ५ लाख १४ हजार ७६० परीक्षार्थी सहभागी हुनेछन् । यो वर्ष परीक्षामा नियमिततर्फ ४ लाख ८८ हजार ७४२, प्राविधिकतर्फ १४ हजार ५६४ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी एसईईमा सहभागी हुने बोर्डले जनाएको छ ।
सामान्यतर्फ ११ हजार ६१५ विद्यालय र प्राविधिकतर्फ २९९ विद्यालयका विद्यार्थीहरु यो वर्ष एसईईमा सहभागी हुने छन् ।
यो वर्ष जापानमा सञ्चालित विद्यालयमा पनि एसईई हुने भएको छ । जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल स्कुलमा पनि एसईई सञ्चालन हुनेछ । परीक्षाको लागि प्रश्नपत्र अनलाईनमार्फत पठाउने तयारी रहेको र परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बताए । केन्द्राध्यक्ष भने विद्यालय र बोर्डबीच छलफल गरेर तोकिएको छ ।
एसईईमा १९ जना विद्यार्थी सहभागी हुने अन् भने गत वर्ष २४ जना विद्यार्थीले एसईई उत्तीर्ण गरेका थिए । विद्यार्थीको उत्तरपुस्तिका केन्द्राध्यक्षले रुजु गरेर सिलबन्दी गरी नेपाल पठाउने छन् ।
फेसबुकबाट तपाइको प्रतिक्रिया