माओवादी केन्द्रबाट निर्वाचित मन्थलीका १ वडा अध्यक्षसहित एक दर्जन एमालेमा प्रवेश

रामेछाप : नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष एमालेमा प्रवेश गरेका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट मन्थली नगरपालिका- १ मा निर्वाचित वडा अध्यक्ष नारायणदास श्रेष्ठ एमाले प्रवेश गरेका हुन् ।

शनिबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा श्रेष्ठलाई एमाले केन्द्रीय सदस्य कैलाश ढुंगेललगायतले स्वागत गरे। एमाले प्रवेश गरेपछि श्रेष्ठले एमाले जिताउन लागि पर्ने धारणा राखे । उनले जिल्लामा एमालेलाई ठूलो बनाउन सुरुवातमा भूमिका खेलेपनि बीचमा न्यूटल बसेको र पछि माओवादीबाट वडा अध्यक्षमा निर्वाचित भएको बताए। ‘ यस अगाडि मन परी, नपरी माओवादी केन्द्रमा बसेँ ’ उनले भने,‘अब एमालेका उम्मेदवार र सिंगो टीमलाई जिताउन आजको दिनबाट लागिपर्छु।’

पार्टी प्रवेश कार्यक्रममा एमाले रामेछाप अध्यक्ष आनन्द श्रेष्ठले नारायण दासले एमाले जिताउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले समाज रुपान्तरणको अभियानमा श्रेष्ठ हातेमालो गर्न आएको बताउँदै उनलाई पार्टीले उचित जिम्मेवारी प्रदान गर्ने धारणा राखे।

श्रेष्ठ नेकपा माओवादी केन्द्र मन्थली नगर कमिटी उपाध्यक्ष समेत हुन्। श्रेष्ठसँगै एक दर्जन कार्यकर्ता एमाले प्रवेश गरेका छन्।

फेसबुकबाट तपाइको प्रतिक्रिया