वायुसेवा निगमका अध्यक्षलाई पर्यटनमन्त्री प्रेम आलेले सोधे स्पष्टीकरण

काठमाडौं । नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)ले शुरु गरेको साउदी अरेबियाको रियादमा उडानसँग असम्बन्धित व्यक्तिहरुको जम्बो टोलीलाई साउदी लगेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले स्पष्टीकरण सोधेका छन् ।

पर्यटन मन्त्री आलेको सचिवालयका अनुसार यो टोलीमा नेपाल वायुसेवा निगमको उडानसँग असम्बन्धित धेरै व्यक्तिहरुलाई निगमका अध्यक्ष युवराज अधिकारीले साउदी अरेबिया लगेपछि स्पष्टीकरण सोधिएको हो ।

‘हामीले निगमको उडानका लागि चाहिने व्यक्तिलाई मात्रै लैजानुस् भनेका थियौं,’ सचिवालयका एक अधिकारीले भने, ‘तर, असम्बन्धित व्यक्तिहरुको जम्बो टोली लगेपछि स्पष्टीकरण सोधेका छौं ।
गत शुक्रबार काठमाडौंबाट रियाद उडेको पहिलो उडानमा दुई दर्जन व्यक्तिलाई निगमले सित्तैमा रियाद उडाएको थियो ।
यसअघि आलेले निगमको आन्तरिक उडानमा प्रयोग भइरहेको एक जहाज निजी कम्पनीलाई ठेक्कामा दिएको सन्दर्भमा समेत स्पष्टीकरण सोधेका छन् । निगमले आफ्नो जहाजमा टिकट काटेर उडाउने गरी अर्कै एक निजी कम्पनीलाई चार्टर्ड उडान गर्न जहाज ठेक्कामा दिएको मन्त्रालय स्रोतको भनाइ छ ।

‘यसरी ठेक्कामा दिँदा कानूनी प्रावधान पुरा गरेको छ कि छैन, ठेक्कामा दिँदा निगमलाई आर्थिक लाभ हानी के हुन्छ, प्रक्रिया पारदर्शी छ कि छैन,’ भन्नेजस्ता प्रश्न राखेर स्पष्टीकरण सोधिएको ती अधिकारीले जानकारी दिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया