निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न आयाेगलाई राष्ट्रपतिकाे आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा स्थानीय तह चुनाव सम्पन्न गर्न निर्वाचन आयाेगलाई आग्रह गर्नुभएकाे छ ।

बुधबार निर्वाचन आयाेगका पदाधिकारीसँग भएकाे भेटवार्तामा राष्ट्रपति भण्डारीले चुनावकाे तयारी सन्तोषजनक रहेको र आयाेगले स्वच्छ निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्ने विश्वास व्यक्त गर्नुभयाे ।

निर्वाचन सुरक्षा प्रबन्धमा विशेष संवेदनशील हुन आयाेगलाई सुझाव दिनुभयाे । उहाँले मतदाताहरुले आफूले राेजेकाे उम्मेदवारलाई निष्पक्ष र निर्वाध रुपमा मतदान गर्न पाउने मतदाताकाे हक अधिकारलाई सबै क्षेत्रबाट सम्मान गर्ने उपयुक्त वातावरण बनाउन आयाेग चनाखाे हुनुपर्ने सुझाव पनि दिनुभयाे । आवधिक निर्वाचन गराउने आयाेगकाे संवैधानिक कार्य भएकाे भन्दै उहाँले आफ्नाे संवैधानिक दायित्व निर्वाह गर्नु आयोग सधैं क्रियाशील हुनुपर्ने बताउनुभयाे ।

चुनावमा राजनीतिक दल र उम्मेदवारलाई जसरी पनि जित्न पाए हुन्छ भन्ने भएपनि आयाेगले स्वतन्त्र,निष्पक्ष र भयरहित वातावरणमा मत संकलन गरेकाे निष्पक्षताकाे प्रत्याभूतिसहित चुनाव सम्पन्न गर्ने र मतपरिणाम प्रकाशित गर्ने कुरामा विशेष ध्यान दिनुपर्ने उहाँकाे सुझाव छ ।

भेटमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि गत चैतदेखि नै निर्वाचन आचारसंहिता लागू भइसकेकाे र तयारीकाे काम तीब्र रुपमा अगाडि बढिरहेकाे बताउनुभएकाे थियाे ।

फेसबुकबाट तपाइको प्रतिक्रिया