रामेछाप । चुनाव नजिकदे गर्दा रामेछापको खाँडादेवी गाउँपालिकाका एमाले उम्मेदवारहरूले बुधबारको दिन वडा नं ४ रजगाउँका माझी गाउँमा घरदैलो पछि पिपल बोटमा सभा सम्पन्न गरेको छ ।
एमाले केन्द्रीय नेता कैलाशप्रसाद ढुङ्गेल तथा माधव ढुङ्गेलका साथ गाउँपालिका अध्यक्षका उम्मेदवार ज्ञानकुमार श्रेष्ठ, उपाध्यक्ष रमा घिसिङ, वडाध्यक्ष उम्मेदवार कृष्ण पौडेल लगायतका उम्मेदवारहरूले पुरै दिन माझी समुदायसँग बिताउनुभयो ।
एमाले नेताहरुले रजगाउँका माझी समुदायकोमा घर दैलो गर्नुभएको थियो । घरदैलो पछि रजगाउँको पिपल बोटमा सभा समेत राखिएको थियो । सो क्रममा अध्यक्षका उम्मेदवार ज्ञानकुमार श्रेष्ठले नेकपा एमालेले युवाहरुको पाखुरा र नङ्ग्रा अब विदेशी भूमिमा नभई स्वदेशमै खियाउने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले माझी समुदायको डुङ्गा चलाउने परम्परागत पेसालाई पर्यटनसँग जोड्ने बताउनुभयो । ‘माझी दाजुभाइले वर्षभरिमा केही पाथी अन्न लिएर डुङ्गा तार्ने जमाना अब गए, माझी समुदायको डुङ्गा चलाउने परम्परागत पेसालाई पर्यटनमा जोड्ने बेला आएको छ, सहरबाट मानिसहरू घुम्न आउने वातावरण बनाउने, काठको डुङ्गामा वारी पारी गर्दा उनीहरूलाई मनोरञ्जन हुन्छ, त्यस बापत ५० रुपैँया होइन ५ सय रुपैँयासम्म एक छिनमा आम्दानी हुने वातावरण हामी बनाउँछौँ’, उहाँले भन्नुभयो ।
उहाँले आफू गाउँपालिका अध्यक्षमा विजयी भएपछि सहकारीमार्फत कृषकका उत्पादनको बजार ग्यारेन्टी गरिने बताउनुभयो । घरेलु तथा साना उद्योग पालिका भित्रै सञ्चालन गर्न लगानीकर्ता आकर्षित गर्ने पनि उहाँले बताउनुभयो ।
फेसबुकबाट तपाइको प्रतिक्रिया