एमाले रामेछाप नगरद्धारा निर्वाचनको घोषणा पत्र सार्वजनिक : प्रदेशस्तरीय रंगशाला निर्माण

रामेछाप । नेकपा एमाले रामेछाप नगरपालिकाले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ। समृद्ध रामेछाप नगरपालिका, सुखी रामेछाप नगरवासी भन्ने नारासहित ५० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।

एमालेले रामेछाप नगरपालिकामा रोशन पाख्रिनलाई मेयर र सीता कुमारी खत्रिलाई उपमेयरमा उम्मेदवार बनाएको छ। रामेछाप नगरपालिकाको नगर प्रमुख र उपप्रमुख जिल्लामा नै सबैभन्दा पहिले सर्वसम्मत चयन गरेको हो। पार्टीले २०७४ सालको स्थानीय निर्वाचनमा पनि पाख्रिनलाई नै मेयरको उम्मेदवार बनाएको थियो। उनी न्यून मतान्तरमा पराजित भएका थिए। नेपाली कांग्रेसका नरबहादुर थापा मगरले ४ हजार ४०१ मत प्राप्त गर्दा पाख्रिनले ४ हजार ३०० मत प्राप्त गरेका थिए। पाख्रिनले यस पटक शानदार मत ल्याएर आफू निर्वाचित हुने दाबी गर्दै आएका छन्। रामेछाप नगरपालिकामा एमाले एक्लै चुनावी मैदानमा होमिएको छ। देशभर गठबन्धन भएपनि रामेछापमा भने सत्ता गठबन्धनबीच भागबण्डा नमिन्दा कांग्रेसबिना माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गरेका छन्।

एमालेले प्रतिबद्धता पत्रमा रामेछाप नगरपालिकाले खुल्ला कृषि पाठशाला सञ्चालन गर्ने घोषणा गरेको छ। रामेछाप नगरमा प्रत्येक वडामा १ जना कृषि प्राविधिकको व्यवस्था, हरेक वडामा सहकारी मार्फत कृषि उपज खरिद विक्री केन्द्रको व्यवस्था सहकारी र कम्पनीहरु मार्फत ठूलो परिमाणमा कृषि तथा पशुपालन गर्न प्रोत्साहित गरिने, उच्च मुल्य प्राप्त हुने वाली एवं तरकारी खेतीको पकेट क्षेत्रको रुपमा विकास गर्ने एमालेले जनाएको छ। व्यवसायिक रुपमा पशु, पंक्षी, माछा र मौरी पालन गर्न चाहने कृषकहरुलाई व्यवसायिक योजनाको आधारमा अधिकतम ५० प्रतिशत अनुदान दिने व्यवस्था गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ।

नगरले शिक्षामा पहुँच विस्तार र गुणस्तर सुधार गर्न नगरपालिका भित्र प्राविधिक धारको शिक्षा विस्तार गरि प्रतिबद्धता पत्रमा उल्लेख छ। स्थानीय पाठ्यक्रमलाई निरन्तर सुधार गरी सान्दर्भिक बनाइनुका साथै मगर, तामाङ र नेवारी भाषी विद्यार्थी बाहुल्यता भएको आधारभुत विद्यालयहरुमा मागका आधारमा मातृभाषा पठन पाठनको व्यवस्था गरिने जनाएको छ। नगर भित्रका विभिन्न जातजातिहरुको पहिचान र मौलिक संस्कृति प्रर्वद्धन गर्न जातिय संग्राहलय स्थापना गर्ने एमालेको लक्ष्य छ।

एमालेले नगरपालिका भित्र कमसेकम एउटा प्रदेशस्तरीय खेलमैदान/रंगशालाको विकास गर्ने र नगरपालिका भित्रका विभिन्न क्षेत्रका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुको अभिलेख तयार गरी सम्मान गर्नुका साथै नगरको खेलकुद विकासमा उनीहरुलाई उपयोग गर्ने नीति लिएको छ।

गुणस्तरिय स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्न प्रदेश सरकार सँग सहकार्य गरी जिल्ला अस्पतालको विशेषज्ञ सेवालाई थप व्यवस्थित बनाइनेछ। ‘नगरपालिकाका सबै स्वास्थ्य संस्थालाई भवन, जनशक्ति र संसाधनयुक्त बनाइनेछ। सबै वडाहरुका स्वस्थ्य संस्थामा २४ घण्टे प्रसुतिसेवा संचालन गरी गर्भ जाँच, प्रसुति जाँच र स्वास्थ्य संस्थामा सुत्केरी गराउने कार्यक्रमलाई व्यवस्थित बनाई थप प्रवर्धन गरिनेछ।’ ‘प्रतिबद्धता पत्रमा भनिएको छ, विपन्न, दिर्घरोगी, जेष्ठ नागरिक र अशक्तहरुलाई ध्यानमा राखि निःशुल्क रुपमा एम्बुलेन्स सेवा, औषधी वितरण, स्वास्थ्य विमामा अनुदान, स्वास्थ्य शिविर तथा घरदैलोमा स्वस्थ्य परिक्षणका कार्यक्रमहरु संचालन गरिनेछ।

एमालेले वडा कार्यालयबाट नगर केन्द्रसम्म जोडिने सडकलाई कालोपत्रे गर्ने, रामेछाप बजारमा रिङ रोड बनाई कालोपत्रे गर्ने, नगर बस सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। त्यसैगरट्ठ विद्युतिय सवारीहरुलाई प्रोत्साहन गर्न सम्भाव्यताको आधारमा नगरका प्रमुख बजारमा विद्युतिय चार्जिङ स्टेसनहरु बनाउन लागि पर्ने बताइएको छ।

रामेछाप बजार र साँघुटार बजारलाई सडक, नाला ढल निकास, खानेपानी, विद्युत लगायतको व्यवस्था गरी आधुनिक ग्रामीण सहरको रुपमा विकास गरिने पत्रमा उल्लेख छ। स्थानीय सांस्कृतिक महोत्सव, मेला, पर्व एवं जात्राहरूको सञ्चालन तथा व्यवस्थापन, ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं पुरातात्विक महत्त्वका सम्पदाहरूको जीर्णोद्धार, संरक्षण र संबर्धनसम्बन्धी कार्यहरू गरिने नीति एमालेले लिएको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया