
काठमाडौं । यातायात व्यवस्था विभागले जेठको पहिलो हप्ताभित्रमा लाइसेन्सको आवेदन खुला गर्ने तयारी गरेको छ । त्यसपछि स्मार्ट सवारी लाइसेन्सको नियमित र सहज वितरण सुरु गर्ने विभागको दाबी छ ।
विभागका प्रवक्ता इश्वरीदत्त पनेरुका अनुसार वैशाख मसान्तसम्म सबै लाइसेन्स कार्यालयहरुले यसअघि फारम भरेकाहरुको परीक्षा लिइसक्ने अनुमान गरिएको छ । १ चैतदेखि देशभरका यातायात कार्यालयका लागि अनलाइन आवेदन बन्द गरिएको छ ।
एउटा नागरिकता नम्बर भएका व्यक्तिले एकपटक मात्रै अनलाइन आवेदन भर्नसक्ने बनाएर बिचौलिया रोक्ने विभागको योजना छ । अब अनलाइनबाट नियन्त्रणात्मक व्यवस्था गरेर मात्रै लाइसेन्सको आवेदन भर्न दिने तयारी छ ।
आवेदन प्रणालीमा देशभरका जुनसुकै यातायात कार्यालयमा १५ दिनभित्र उपलब्ध रिक्त सिट आवेदकले हेर्न पाउने र आफ्नो पायक पर्ने कार्यालयमा आवेदन दिएर तुरुन्तै अनलाइनबाट शुल्क भुक्तानी गर्न सक्ने व्यवस्था गर्ने तयारी छ ।
‘जेठ पहिलो साताभित्रै आवेदनको व्यवस्थित प्रणाली तयार गरिसक्न महानिर्देशकज्युले प्राविधिक टिमलाई भनिसक्नु भएको छ,’ उनले भने,’ कुनै प्राविधि समस्या आएन भने लाइसेन्सको आवेदन जेठको पहिलो हप्तामा खुल्छ ।’
गत ११ चैतमा आफ्नो एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै विभागका महानिर्देशक नमराज घिमिरेले सन् २०२१को करिब २ लाख ८ हजार र सन् २०२२ लागेयताको करिब १ लाख लाइसेन्स छपाइको काम बाँकी रहेको बताएका थिए ।
फेसबुकबाट तपाइको प्रतिक्रिया