एमाले रामेछापका सचिव कँडरियाको दाबी, ‘माओवादी विघटन हुँदैछ’

रामेछाप । नेकपा (एमाले) रामेछापका सचिव पुरुषोत्तम कँडरियाले हँसिया हथौडाको झण्डा बोकेर कम्युनिष्ट हुँ भन्नेहरुले कम्युनिष्ट आन्दोलन नै शेरबहादुर देउवाको पाउमा चढाउन खोजेको आरोप लगाएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधब नेपालप्रति लक्षित गर्दै सचिव कँडरियाले बुढानिलकण्डमा पुगेर कम्युनिष्ट आन्दोलन शेरबहादुरको पाउमा चढाउनेहरु कम्युनिष्ट हुन नसक्ने बताएका छन् । लिखु तामाकोशी गाउँपालिकास्थित तिल्पुङमा एमालेले आयोजना गरेको चुनावी सभामा बोल्दै उनले सत्ता गठबन्धन अपवित्र गठबन्धन भएको पनि दाबी गरे ।

उनले विकास, समृद्धि र राष्ट्रिय स्वाभिमान नै एमालेको मूल मुद्दा भएको पनि बताएका छन् ।

‘सुखी नेपाली, समृद्ध नेपाल एमालेको मूल मुद्दा हो’ उनले भने, ‘लिपुलेक सम्झिँदा मान्छेले केपी ओली सम्झिन्छन्, कालापानी सम्झिँदा केपी ओली सम्झिन्छन्, धरहरा र रानीपोखरी देख्दा मानिसले केपी ओली सम्झिन्छन्, चीनसँगको पारबहन सन्धिको विषयमा केपी ओली सम्झिन्छन्, सुरुङमार्ग र सबै राष्ट्रिय गौरवका आयोजना सम्झिँदा केपी ओलीलाई सम्झिन्छन्, त्यसकारण विकास, समृद्धि र राष्ट्रियता एमालेको मूल मुद्दा हो ।’

एक प्रशंगमा सचिव कँडरियाले माओवादी विघटनको संघारमा रहेको पनि दाबी गरेका छन् ।

‘माओवादी विघटन हुँदैछ, एक्लै लडेर चुनाव जित्न नसक्ने भएपछि माओवादी अहिले अस्तित्व जोगाउने ध्याउन्नमा छ’ उनले भने, ‘माओवादीले अस्तित्व जोगाउनकै लागि अहिले काँग्रेसको पुच्छर समाईरहेको छ ।’

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: