जनताको पक्षमा काम गर्दै आएकोले एमालेप्रतिको जनताको विश्वास थप बढ्दै छ : ढुङ्गेल

रामेछाप । नेकपा एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेलले नेकपा एमालेले उठाएको स्थानीय तहका प्रत्येक उम्मेदवारमा एमाले पार्टीको साथ रहेको बताउनुभएको छ । एमाले मन्थली नगर कमिटीले वडा नं ९ पुरानागाउँमा आइतबार आयोजना गरेको चुनावी सभामा बोल्दै नेता ढुङ्गेलले एमालेका उम्मेदवारलाई व्यक्ति हेरेर होइन सूर्य चिन्ह र एमालेले देश र जनताको लागि गरेको कम हेरेर मतदान गर्न आग्रह गर्नुभयो ।

हरेक पार्टी जीवनमा विचार हुने भएको बताउँदै ढुङ्गेलले एमाले पछाडि पारिएका जनताको विकासको लाग काम गर्ने पार्टी भएको बताउनुभयो । ढुङ्गेलले स्थानीय सरकार मार्फत विकासको काम गर्ने कुरा प्रारम्भ गर्ने पार्टी नेकपा एमाले भएको बताउनुभयो । विगत देखिनै जनताको पक्षमा काम गर्दै आएको एमाले पार्टीले राष्ट्रिय स्वाभिमान र देश विकासको थप काम गर्न लागेपछि देशी विदेशी शक्ति मिलेर केपी ओलीको सरकार ढालेको उहाँले बताउनुभयो ।
प्रतिगामी शक्तिले एमाले सरकार ढाले पनि एमाले प्रतिको जनताको विश्वास थप बढ्दै गएको उहाँले बताउनुभयो । कार्यक्रममा मन्थली नगरपालिकाको मेयरका उम्मेदवार लब श्रेष्ठले आफूहरू निर्वाचित भएपछि निरन्तर जनताको पक्षमा काम गर्ने बताउनुभयो । जनताको सडक, शिक्षा, स्वास्थ्य, कृषि हरेक क्षेत्रका समस्या समाधानको लागि आफू लागि पर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा मन्थली नगरपालिकामा एमालेबाट उपाध्यक्ष पदकी उम्मेदवार ईश्वरी बस्नेतले आफू कुनै सरकारी सेवा सुविधा नलिई जनताको सेवामा समर्पित हुने बताउनुभयो । यसको लागि आफूलाई निर्वाचित गराउन उहाँले आग्रह गर्नुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया