
रामेछाप । नेकपा एमाले लिखु तामाकोशी गाउँपालिकाले मतदातालाई प्रभावित गर्ने गरी एमालेका उम्मेदवारले मल ल्याएको भन्ने समाचार निराधार भएको बताएको छ ।
एमाले लिखु तामाकोशी गाउँपालिका कमिटीले विज्ञप्तिमार्फत काँग्रेस निकटहरुले मल ल्याएको तर, एमालेका उम्मेदवारले ल्याएको भनेर गलत हल्ला फैलाईएको बताएको छ । एमाले लिखु तामाकोशी गाउँपालिका कमिटीका अध्यक्ष भिम बहादुर तामाङले जारी गरेको विज्ञप्तिमा निर्वाचनमा एमालेप्रति उर्लिएको जनलहरलाई कमजोर पार्न काँग्रेसले नै यो प्रपञ्च रहेको दाबी गरिएको छ ।
नेकपा एमाले रामेछापका सचिव पुरुषोत्तम कँडरियाले पनि लिखुमा एमालेको विषयमा भ्रम छरेर चुनाव जित्ने दाउमा रहेको काँग्रेसले यस्तो अफबाह फैलाएको बताएका छन् ।
काँग्रेस आफैँले बाँड्न मल ल्याएर एमालेले बाँड्न ल्यायो भनेर हल्ला फैलाएर एमालेप्रतिको जनलहर कमजोर पार्न काँग्रेस आफैँ लागेको छ, त्यो मल काँग्रेस निकटले नै ल्याएका हुन्, यसमा एमालेका कुनै नेता, कार्यकर्ता र एमालेले अघि सारेका उम्मेदवारको संलग्नता छैन उनले भने ।
एमाले लिखु तामाकोशी गाउँपालिका कमिटीले जारी गरेको विज्ञप्तिमा पनि उक्त समाचारमा सत्यता नरहेको र भ्रममा नपर्न पालिका बासीलाई अनुरोध गरिएको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया