एमालेलाई हराउँदै उदयपुरगढी गाउँपालिकामा नेकपा एसका मगर निर्वाचित

उदयपुर । नेकपा एमालेका उम्मेदवार गोपालबहादुर खत्रीलाई हराउँदै उदयपुरको उदयपुरगढी गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका मानबहादुर केप्छाकी मगरले जितेका छन् । खत्रीलाई आठ सय भन्दा बढी मतान्तरले पराजित गरी मगर अध्यक्ष निर्वाचित भएका हुन् ।

मगरले ४,९४२ मत ल्याउँदा खत्रीले ४,११४ मत पाए । ०७४ मा मगरले नेकपा एमालेबाट अध्यक्ष जितेका थिए । तर यसपटक भने एमालेलाई नै हराउँदै दोस्रो पटक अध्यक्ष जिते ।
उपाध्यक्षमा नेपाली कांग्रेसका जितबहादुर खड्काले जितेका छन् । खड्काले ४,६४८ मत पाउँदा एमालेका शोभाकुमारी आलेले ३,८६३ मत पाइन् । यो गाउँपालिकामा सत्ता साझेदार दलहरुको गठबन्धन भएको थियो ।

यो सहित एकीकृत समाजवादीले जितेको स्थानीय तहको संख्या तीन पुगेको छ । तर निर्वाचित हुनेमा भने एकीकृत समाजवादीका पहिलो अध्यक्ष हुन् । यसअघि दुई पालिका प्रमुखमा एकीकृत समाजवादीका नेता निर्विरोध भएका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया