
राम चन्द्र राई ।
-निर्वाचित भएर जनताको सेवा गर्नको लागि कुनै न कुनै राजनीतिक दलको झण्डा, डण्डा र एजेण्डा बोक्नै पर्छ भन्ने नेपाली राजनीतिक चिन्तनलाई धरान उपमहानगरपालिकामा बहुमत ल्याएर निर्वाचित हर्क साम्पाङले गलत सावित गरिदिएको छ ।
उनको जितले राजनीति वृत्तमा धरानमा मात्र होइन सिङगो देशभर तरङगित बनाएको छ । हर्क साम्पाङको यस सफलताले नेपाली समाज र राजनीतिमा नवीन सोच, चिन्तन र बहसको प्रादुर्भाव गरेको । नेता भनेको कुनै राजनीतिक दलको उच्च पदाधिकारी वा केन्द्रीय तहको मान्छे हो भन्ने मान्यतालाई नै भत्काइदिएको छ ।

उनको सफलताले नेपालको परम्परित, सामन्ती, हुकुमी, घरानीय, वंशवादी, चाकरी र खुरापाती राजनीतिक चिन्तन र प्रणालीमा समेत गम्भीर प्रश्न चिन्ह खडा गरेको छ । यस्तो महत्त्वपूर्ण नवीन, अग्रगामी तथा दूरगामी निर्णयको लागि सर्वप्रथमतस् म आदरणीय धरानवासी दाजुभाई तथा दिदीबहिनीहरुलाई भुइस्वरी सेवार नमस्ते गर्न चाहन्छु । खास गरेर धरान निवासी युवा जगतलाई सम्मान गर्न चाहन्छु । तपाईहरुको निर्णयले पुरै नेपाली राजनीतिलाई नै नयाँ मोड र दिशातर्फ धकेली दिएको छ । वास्तवमा धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्क साम्पाङको जितले एउटा वडाको वडा अध्यक्ष जित्नका लागि समेत करौडौँ खर्च गर्नु पर्ने भ्रष्ट नजिरलाई समेत नराम्रोसङ्गले भत्काई दिएको छ । हो समाजमा बेला बेला यस्तो असामाजिक मान्छेहरु जन्मनै पर्छ जस्ले समाजको तथाकथित व्यवस्था र व्यवहारलाई तोड्दै जावस ।
अब धराने जनताको जिम्मेवारी पूरा भएको छ जस्ले मुलधारका भनिएको असफल राजनीतिक झुण्डहरुलाई पन्छाएर एउटा अलग र एक्लो सामाजिक व्यक्तिलाई आफ्नो नगरको चाबी सुम्पिएको छ । वास्तवमा धराने जनताले ठुलै जोखिम मोलेर हर्क साम्पाङलाई जिताएका छन् । धराने जनताले यस्तो चामात्कारिक निर्णय गरेको छ कि यो निर्णयबाट स्वयं हर्क साम्पाङ समेत चकित हुन पुगेको छ, किनभने उनले समाजको व्यथिति र विसङगतिको विरुद्धको प्रतीकात्मक उम्मेदवारी मात्र दिएका थिए तर विकल्पको खोजीमा रहेको धराने जनताले हर्क साम्पाङलाई विकल्पस्वरुप अप्रत्याशित ढङ्गले निर्वाचित गरेरै छाडे ।

अब अत्यन्तै ठुलो चुनौती र जिम्मेवारी हर्क साम्पाङ माझ उभिएको छ । बिना कमिसन वा बिना अतिरिक्त आम्दानी काम नगर्ने परम्परित कर्मचारीतन्त्र,आफ्नो क्षेत्रको विकास आफै गरौँ भन्ने सोचले भन्दा पनि केही रकम कमाँउ भन्ने उदेश्यले गठित उपभोक्ता समिति, मोटो कमिशन खुवाएर सेटिङमार्फत ठेक्का पारेर समयमा काम नगर्ने वा बेपत्ता हुने ठेक्दारी प्रथा, कमिशन र चोखो आम्दानी देखाएर योजना मिलाउने व्यापारीतन्त्र, कमिशन खान पल्केका उपभोक्ता समिति , ठेकेदार र ओडाका कतिपय जनप्रतिनिधिहरु, प्रदेश सरकार, संघ सरकारका दबाब, बार्गेनिङ, भ्रष्ट राजनीतिक प्रणाली र भ्रष्ट समाज आदिसङ्ग जुध्न हर्क साम्पाङलाई अत्यन्तै कठिन छ । तर यतिबेला हर्क साम्पाङको राजनीतिक सफलतासङ्ग उनको मात्र होइन सिङगो मुलुकको राजनीतिक यात्रा जोडिएको छ ।
दलीय राजनीतिक भ्रष्टाचारबाट मुक्त हुन खोज्दै देशभर हर्क साम्पाङजस्ता स्वतन्त्र उम्मेदवारहरुलाई जनताले विकल्प ठानेर भोट दिएका हुन् । तर हर्क साम्पाङ असफल हुनु भनेको उनीजस्ता देशभरका स्वतन्त्र उम्मेदवारहरुप्रतिको भरोसा टुट्न हो, जनताको विश्वास र भरोसाप्रतिकै कुठाराघात हो । त्यसैले बन्धु ९ हर्क साम्पाङ० तपाईंको हातमा सिङ्गो नेपाली राजनीतिको मोड र घुम्ती अडिएको छ । तपाईंले जसरी चामात्कारिक ढङगले जित्नु भयो त्यही रूपमा विकासको गतिलाई लान असम्भव छ । अब तपाईंको पछि तिनै शक्तिहरु लाग्नेछन् जस्ले वर्षौदेखि जनताको विकासको नाममा मस्ती गर्दै आएका थिए । तपाईंसामु अत्यन्तै धेरै र शक्तिशाली चुनौतीहरु उभिएका छन् । तर नआत्तिनुस चुनौतीको सामना नै सफलता हो, सफलता नै विकास हो, विकास नै समृद्धि हो ।
केही दिन वा हप्ता गम्भीर भएर विशेष विज्ञहरुसङ्ग बसेर पाँच वर्षे योजना बनाउनुस, त्यो योजना बनाउदा तत्काल गर्नै पर्ने अल्पकालीन र क्रमशः गर्दै जाने दीर्घकालीन योजनाको प्रारुप बनाउनुस, एउटा निष्कलङकित तथा गैरराजनीतिक विभिन्न क्षेत्र र विषयका विज्ञ समिति निर्माण गर्नुस । हरेक घन्टा, दिन, महिना र वर्षको सेडुएल मिलाएर जनताको सेवामा लाग्नुस ।
फेरि पनि हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।
#ताप्लेजुङ हाल यूके
फेसबुकबाट तपाइको प्रतिक्रिया