काठमाडौंको फोहोर उठाउन सकस : मेयर-उपमेयर मन्त्रीसंग छलफलमा

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले काठमाडौंको फोहोर व्यवस्थापनबारे पुनः शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग परामर्श गरेका छन् । बन्चरेडाँडामा कहिले र कसरी फोहोर लैजाने भन्ने विषयमा शनिबार मन्त्री झाँक्री र मेयर साहबीच छलफल भएको हो ।

मन्त्री झाँक्रीले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटको ‘सेल वान’मा फोहोर फाल्न सकिने गरी निर्माण भइसकेकोले फोहोर व्यवस्थापनका लागि महानगरलाई आफ्नो पूर्ण सहयोग रहने बताइन् । उनले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटबारे मन्त्रालयले गरेको प्रतिबद्धता पूरा गर्ने समेत वचन दिइन् । जग्गा अधिग्रहण गर्नुपर्ने स्थानीयको मागबारे प्राविधिक टोलीको अध्ययन प्रतिवेदनपछि मात्रै टुंगोमा पुग्न सकिने भएकाले तत्काल फोहोर व्यवस्थापन गर्नका लागि मन्त्रालयले समन्वय गर्ने उनले बताइन् ।

काठमाडौंको फोहोर व्यवस्थापन आफ्नो प्रमुख प्राथमिकतामा रहेको बताउँदै मन्त्रालयलाई समन्वय गरिदिन महानगर प्रमुख साहले आग्रह गरेका थिए । छलफलमा उपमेयर सुनिता डंगोलको समेत सहभागिता थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया