महन्थ ठाकुरलाई विश्वासमा लिने प्रधानमन्त्री देउवाको रणनीति

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी नेपालको साथ खोजेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरलाई छुट्टाछुट्टै बोलाएर छलफल गरेपछि प्रधानमन्त्री देउवा झस्किएका हुन् ।

अध्यक्ष ओलीले जेठ १० गते जसपाका अध्यक्ष उपेन्द्र यादवलाई बालकोटमा बोलाएर भेटेका थिए । त्यसको एक हप्तापछि ओलीले लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई पनि बोलाएर भेटेका थिए । मधेस केन्द्रित दुई दलका अध्यक्षसँग यसरी ओलीले भेटघाट गरेपछि प्रधानमन्त्री देउवा झस्किएका हुन् ।

जसपा नेपालका अध्यक्ष यादव स्थानीय तह निर्वाचनमा काँग्रेसबाट धोका पाएको पीडामा छन् । गठबन्धन भत्किने हो कि भन्ने डरले प्रधानमन्त्री देउवाले तत्कालै गठबन्धनको बैठक बोलाएर सबै असन्तुष्टिलाई थामथुम पारे । अध्यक्ष उपेन्द्र यादवले यही गठबन्धनलाई संघ र प्रदेशको चुनावसम्म निरन्तरता दिने भएपछि प्रधानमन्त्री देउवा ढुक्क भएर अध्यक्ष ठाकुरलाई समेत फकाउनतिर लागेका छन् । उनले जेठ २१ गते बालुवाटारमै बोलाएर ठाकुरसँग छलफल गरे ।

छलफलमा प्रधानमन्त्री देउवाले अध्यक्ष ठाकुरलाई गठबन्धन र सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया