वर्षाको कारण रामेछाप गेलुको थापाटोलमा पहिरोले चार घर जोखिममा

रामेछाप । अविरल वर्षाको कारण रामेछापको मन्थली नगरपालिका वडा नं १२ गेलु स्थित थापा टोलका चार घर परिवार पहिरोको जोखिममा परेका छन् । वर्षाका कारण बस्ती माथि वडा कार्यालय जाने बाटोबाट पहिरो खस्दा चार वटा घर र तीन वटा गोठ जोखिमा परेकोे र दुईवटा खसी पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

पहिरोका कारण थापाटोलका मनमाया थापाको दुई तल्ले कच्ची घर पूर्ण जोखिममा परेकोे र दुई वटा खसी पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक राजुप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार थापा टोलका ७८ वर्षका विष्णुबहादुर थापाको दुई तल्ले कच्ची घर र एउटा गोठ, ५५ वर्षका ज्ञानबहादुर थापाको दुई तल्ले कच्ची घर र एउटा गोठ र ६२ वर्षका छत्रबहादुर थापाको दुई तल्ले कच्ची घर र एउटा गोठ जोखिममा परेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता ढकालले वर्षाका कारण पहिरोको जोखिमा परेका घरका परिवारलाई अन्यन्त्र सुरक्षित स्थानमा सर्न आग्रह गरिएको र प्रहरी टोलीले अन्य सहयोग पनि गरेको बताउनुभयो । उहाँका अनुसार रामेछापको लिखुतामाकोसी गाउँपालिका–७ तिल्पुङमा पहिरोका कारण अवरुद्ध भएको मन्थली–चरिकोट सडक पनि सुचारु गरिएको छ । पहिरोका कारण बिहीवार ६ः३० बजेदेखि अवरुद्ध भएको यो सडक खण्ड प्रहरीले सडक विभागसँगको समन्वयमा पहिरो हटाएपछि शुक्रबार बिहान ८ः०० बजेबाट सुचारु भएको उहाँले बताउनुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: