जापान नेपालको असल मित्र राष्ट्र हो : राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना

जापान । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गैरआवासीय नेपालीलाई दोहोरो नागरिकता पाउने विधेयक पास गरेर आएको बताउनु भएको छ । राष्ट्रिय सभाबाट नागरिकता विधेयक पारित गरे लगत्तै आएको नेपालीहरुले खुशी व्यक्त गर्दै साझा लक्ष्य लिएर अघि बढ्न आग्रह गर्नु भयो ।

शनिवार टोकियाको नाकानोमा शुरुवात भएको १२ औं नेपाल फेस्टिवलको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले नेपालको कला, संस्कृति, भेषभूषा, रीतिरिवाज आदिको प्रवर्द्धन एवं संरक्षणका लागि नेपाल फेस्टिवल आयोजना गरेकोमा जापानवासी नेपालीलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस प्रकारका कार्यक्रमहरूलाई निरन्तरता दिन अनुरोध गर्नुभयो ।

साथै नेपाल र जापानबीच घनिष्ठ सम्बन्ध रहेको बताउनु हुँदै नेपालको सामाजिक, आर्थिक लगायत समग्र विकासमा मित्रराष्ट्र जापानले गर्दै आएको सहयोगका लागि धन्यवाद दिनुभयो । जापानमा रहेका नेपालीहरू नेपालको विकासका लागि अग्रसर रहेको आफूले पाएको र भविष्यमा पनि सबैजना एकजुट भई जापानमा आर्जन गरेको ज्ञान, सीप तथा पुँजी राष्ट्रको विकासमा परिचालन गर्न अनुरोध गर्नुभयो ।

गैरआवासीय नेपाली संघ एनआरएनए जापान र नेपाली राजदूतावास, जापानको संयुक्त आयोजनामा टोकियोमा आजदेखी १२ औं नेपाल फेस्टिबल सुरु भएको छ । फेस्टिवलको राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाको प्रमुख आतिथ्यतामा प्रमुख ब्यक्तित्वहरुले संयूक्त रुपमा रिवन काटेर उद्घाटन गर्नुभएको थियो ।

सोही कार्यक्रममा बोल्दै जापानको परराष्ट्र मन्त्रालयको दक्षिणपूर्व तथा दक्षिण पश्चिम एशिया मामिला विभागका महानिर्देशक ताकेहिरो कानोले सन् १९५६ मा नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीच विभिन्न क्षेत्रमा सम्बन्ध विस्तार एवं प्रगाढ बन्दै गइरहेको बताउनुभयो। एक लाख भन्दा बढीको संख्यामा जापानमा बसोवास गर्ने नेपालीहरू दुई देशबीचको सम्बन्धको मेरुदण्ड भएको र जापानको विकासमा नेपाली समुदायको महत्वपूर्ण योगदान रहेको पनि उल्लेख गर्नुभयो ।

नेपाली राजदूतावास जापानका कार्यवाहक राजदूत अम्बिका जोशीले कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीहरूलाई स्वागत गर्दै चर्को गर्मी र कोभिड९१९ को संक्रमण उच्च रहेको कठिन समयमा पनि कार्यक्रममा सहभागिता जनाउनु भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । नेपाल भौगोलिक एवं साँस्कृतिक रुपले विविधतायुक्त भएको उल्लेख गर्दै विविधताबीच कायम एकता उदाहरणीय रहेको बताउनुभयो ।

सबै खाले पर्यटकहरूका लागि नेपाल आकर्षक गन्तव्य रहेको उल्लेख गर्दै जापानी लगायत अन्य विदेशी मित्रहरूलाई नेपाल भ्रमणका लागि आमन्त्रण गर्नुभयो । नेपाल-जापान सम्बन्धका हिसाबले सन् २०२२ विशेष महत्वको वर्ष रहेको पनि उल्लेख गर्नुभयो ।

कार्यक्रमलाई नाकानो वार्डका प्रमुख साकाई नाओतोले सम्बोधन गर्दै नाकानो वार्डमा उल्लेख्य उपस्थिति रहेको नेपाली नागरिकहरूसँग वार्डको सुमधुर सम्बन्ध रहेको र त्यहाँ बसोवास गर्ने नेपालीहरुलाई वार्डको तर्फबाट सदैव सहयोग रहने कुरामा आश्वस्त पार्नुभयो ।

एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले कार्यक्रम आयोजना गर्न सहयोग पुर्याउनुहुने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो । गैरआवासीय नेपाली संघ जापानका उपाध्यक्ष संगिता अधिकारी सुवेदी र महासचिव सिद्धार्थ श्रेष्ठले संचालन गर्नुभएको उक्त कार्यक्रमलाई इभेन्ट पार्टनरहरू रविन शेरचनले सम्बोधन गर्नुभएको थियो ।

जापानमा रहेको नेपाली समुदायलाई लक्षित गरी एनआरएनए जापानकी सचिव एलिजा केसी भण्डारीले नेपाली भाषामा तयार पार्नुभएको भूकम्प प्रकोप पूर्व तयारी पुस्तिका आजै विमोचन गरिएको थियो ।

नेपाली परम्परा र संस्कृति झल्काउने विभिन्न आदिवासी ता्ता जातजाति झाँकी, गीत तथा नृत्यहरू पनि प्रस्तुत गरिएको उद्घाटन समारोहमा टोकियोस्थित विभिन्न राजदूतावासका कूटनीतिक प्रतिनिधिहरू, नेपालका लागि पूर्व जापानी राजदूत लगायत ठूलो संख्यामा नेपाली तथा जापानी नागरिकहरूको उपस्थिति रहेको थियो ।
नेपाल फेस्टिबल भोली ३१ जुलाई आईतवार समापन हुनेछ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया