
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा भएसँगै पर्सामा निर्वाचनको रौनक सुरु भएको छ । गठबन्धनभित्र र बाहिरका दलहरूले निर्वाचन क्षेत्र र उम्मेदवारहरूको टुङ्गो नलगाए पनि आकाङ्क्षीहरूले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्न थालिसकेका छन् ।
प्रदेशसभा अन्तर्गत पर्सा निर्वाचन क्षेत्र नम्बर १ (ख)मा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वीरगञ्ज महानगर अध्यक्ष ओमप्रकाश सर्राफले उम्मेदवारी घोषणा गरेका छन् । २०७४ को निर्वाचनमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत निर्वाचित भएको सो क्षेत्रमा सर्राफले उम्मेदवारी घोषणा गरेका हुन् ।
२०७४ को निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ (ख) बाट मुख्यमन्त्री राउतले नेपाली काँग्रेसका विजय सर्राफलाई थोरै मतान्तरले पराजित गरेका थिए । ‘बेटी पढाऊ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत साइकल खरिद प्रक्रियामा पछिल्लो समय विवादमा तानिएका मुख्यमन्त्री राउतले ५ वर्षको अवधिमा बदनामीमात्र कमाएको लोसपाका महानगर अध्यक्ष सर्राफको आरोप छ ।
‘मुख्यमन्त्रीको कार्यशैलीका कारण संघीयता बदनाम भएको छ, मधेस आन्दोलनका सहिद परिवार बिचल्ली भएको अवस्थामा यिनीहरू बिलासी जीवन बाँचिरहेका छन्,’ उनले भने, ‘संघीयतालाई बलियो बनाउन, मधेस आन्दोलनको मर्म र भावनालाई जीवन्त राख्न र शहीदहरूको सपना पूरा गर्न अगामी निर्वाचनमा मुख्यमन्त्री राउतलाई पराजित गर्नुपर्छ, त्यसैका लागि मुख्यमन्त्रीविरुद्ध मेरो उम्मेदवारी हो ।
उनले एक वर्षभित्र पर्सा जिल्लालाई पूर्ण साक्षर बनाउने, सामुदायिक विद्यालय र स्वास्थ्य संस्थालाई चुस्त दुरुस्त राख्ने, सरकारी अस्पताललाई विश्वासिलो बनाउने आफ्नो एजेण्डा रहेको बताए ।
फेसबुकबाट तपाइको प्रतिक्रिया