चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन लक्षित दौडधुप बढाएका छन् । चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा दोस्रोपटक प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्ने तयारी गरेका प्रचण्डले पूर्वाधार कार्यक्रमको शिलान्यास तथा उद्घाटनलाई निकै प्राथमिकता दिएका छन् ।
८ भदौमा वन तथा वातावरणमन्त्री प्रदीप यादव र भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईलाई लिएर चितवन आएका प्रचण्डले हुलाकी राजमार्ग अन्तर्गत माडी नगरपालिकामा बनेको रतनी पुलको उद्घाटन गरे ।
माडीमा निकुञ्जको समस्या छ, पुल उद्घाटनमा वनमन्त्री र भौतिक पूर्वाधार मन्त्रीलाई उपस्थित गराएर उनले जनतालाई आश्वस्त पार्ने प्रयास गरे ।
त्यसको १० दिनपछि शनिबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नागरिक उड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई लिएर भरतपुर आए । पुल्चोक नारायणगढदेखि बसपार्क चोक तथा आँपटारीसम्म विद्युत लाइन भूमिगत गर्ने कार्यक्रमको शिलान्यास गरे ।
फेसबुकबाट तपाइको प्रतिक्रिया