होलसेल व्यवसायीहरुले मूल्य घटाएर खाद्यान्न बिक्री

काठमाडौं । होलसेल व्यवसायीहरुले मूल्य घटाएर खाद्यान्न बिक्री गर्न थालेका छन् । बजारमा वस्तुको बिक्री घट्दा जसरी पनि आर्थिक कारोबार व्यवस्थापन गर्नु पर्ने दबाब र स्रोतमै वस्तुको मूल्य घटेका कारण खाद्यान्नको होलसेल बजार तीन महिना अवधिमा ३० देखि ४० प्रतिशतसम्मले घटेको व्यवसायीहरुको दाबी छ । तर खुद्रा बजार भने महँगो नै रहेको उपभोक्ताहरु बताउँछन् ।

दैनिक प्रयोगको चामल, दाल, तेल, मैदा र आँटासहितका खाद्य वस्तुको मूल्य होलसेलमा घटे पनि उपभोक्ता सो मूल्य पाउनबाट बञ्चित भएको हुनसक्ने होलसेल व्यवसायीहरु बताउँछन् । होलसेल खाद्यान्न व्यापार गर्ने व्यवसायीहरुकाअनुसार गत फागुनको तुलनामा धेरै प्रकारका खाद्यान्नको बजार मूल्य होलसेलमा सस्तो भएको छ ।

नेपाल खुद्रा व्यापार संघको मासिक बजार मूल्य बुलेटिनले पनि मूल्य घटेको देखिन्छ । तर, किराना पसलहरुले होलसेलको दाबीअनुसार मेलखाने परिमाणमा वस्तुको मूल्य नघटाएको उपभोक्ता अधिकारकर्मीहरुको आरोप लगाउँछन् ।

खाद्यान्नका होलसेल व्यवसायी एवम् टोखा चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जया फुँयालका अनुसार बजारमा धेरै खपत हुने जिरा मसिनो चामलको मूल्य बोरामै ३ सय रुपैयाँले मूल्य घटेको छ । फागुनमा २ हजार ३ सय रुपैयाँ पर्ने यस्तो चामलको होलसेल मूल्य अहिले २ हजार रुपौयाँमा झरेको छ ।

यो भनेको किलोमा १२ रुपैयाँसम्म मूल्य घटेको उनले बताए । यस अघिप्रति किलो ९२ रुपैयाँ पुगेको चामलको मूल्य अहिले घटेर ८० रुपैयाँमा झरेको छ । यस्तै २५० रुपैयाँ लिटरमा बिक्री भइरहेको सूर्यमुखी तेलको मूल्य लिटरमै ७० रुपैयाँले घटेर १८० रुपैयाँमा झरेको छ ।

सोयबिन तेलको मूल्य २४० रुपैयाँबाट घटेर १४५ रुपैयाँमा होलसेल कारोबार भइरहेको छ । ४ हजार २ सय रुपैयाँ पर्ने प्रतिबोरा मैदाको मूल्य ३२ सय रुपैयाँमा झरेको छ यो भनेको किलोमा २० रुपैयाँको गिरावट हो । मुसुराको दालको मूल्य प्रतिकिलो ७ रुपैयाँले घटेर १२८ रुपैयाँमा झरेको छ । यस अघि १३५ रुपैयाँ किलोमा मुसुराको दाल होलसेल बिक्री हुन्थ्यो ।

१३० रुपैयाँ किलोमा बिक्री हुने सुजीको पिठोको मूल्य किलोमै २० रुपैयाँले घटेर ११० देखि १९० रुपैयाँसम्ममा झरेको छ । यो भनेको किलोमै १० रुपैयाँ भन्दा बढी सस्तो हो । मासको दाल २ देखि ३ रुपैयाँ र चिनी ४ रुपैयाँले किलोमा बढेको छ । मोटा मन्सुली चामल चाहिं किलोमा ५ रुपैयाँले बढेको छ ।

होलसेल व्यवसायीहरुको संस्था नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघले पनि बजारमा खाद्यान्नको मूल्यमा गिरावट आएको जनाएको छ । संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठकाअनुसार दाल, चामल, तेल, पिठोका परिकारको मूल्य ४० प्रतिशतसम्मले घटेको छ ।

अन्तर्राष्ट्रिय बजार मूल्यमा आएको गिरावट र उत्पादकको मूल्य र लागत घट्नु र बजारको आर्थिक चक्र मिलाउनका लागि पनि होलसेलहरुले मूल्य घटाइरहेको उनले बताए । ‘व्यापारीहरु पनि बजारमा हिसाब मिलाउन जसरी पनि नगदमा सामान बिक्री गर्ने दबाबमा छन् । यसले मूल्य घट्ने नै भयो,’ अध्यक्ष श्रेष्ठ थप्छन्, ‘अर्कोतर्फ अन्तर्राष्ट्रिय बजारमा पनि मूल्य घटेको छ ।’

अर्का होलसेल व्यवसायी ओमप्रकाश बंशलकाअनुसार महँगी अब बिस्तारै आरालो लागेको छ । उपभोक्तामा क्रयशक्ति घट्दा बजारमा छाएको मन्दीले पनि मूल्य आरोलोको चक्र सुरु भएको उनले बताए ।

बजारमा कुनै वस्तुको अभाव नभएको र बिस्तारै अन्तर्रािष्ट्रय बजारमा पनि मूल्य घटेका कारण बजार मूल्य घटेको उनको बुझाइ छ । ‘अन्तर्राष्ट्रिय बजारमा पनि बिस्तारै मूल्य घटेन थाल्यो । होलसेलले पनि सामान राखेर भन्दा पनि बिक्री गरेर नगद कारोबारका लागि मूल्य घटाउन थाले’ बंशलले भने ।

होलसेल बजारमा खाद्यान्नको मूल्य घटेको तर किराना तथा खुद्रामा भने यसको प्रभाव नपरेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चले जनाएको छ । मञ्चले गरेको बजार अनुगमनमा पुरानै अधिकतम खुद्रा मूल्यका आधारमा ती खाद्यान्नहरु बिक्री भइरहेका कारण होलसेलले कटौती गरेको मूल्यबाट उपभोक्ता लाभान्वित नभएको पाइएको अध्यक्ष माधब तिमल्सिनाले बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया