हेटौंडा । बागमती प्रदेश युवा सम्मेलन २०८१ लाई सीप विकास वर्ष घोषणा गर्दै समापन भएको छ ।
बागमती प्रदेशभरका पाँच हजार जनालाई सीप सिकाउने लक्ष्यसहित प्रदेश युवा परिषद् हेटौंडाले आइतबार यस वर्षलाई सीप विकास वर्ष घोषणा गरेको हो ।
१३ बुँदे घोषणा पत्र जारी गर्दै परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईंले सीप विकास वर्ष घोषणा गरेका हुन् । घोषणापत्रमा भनिएको छ, ‘जनसांख्यिक लाभलाई देशको समृद्धिको आधार बनाउनै पर्दछ ।’
युवामा लगानी बिना देशको समृद्धि हुन नसक्ने दाबीसहित सम्मेलनले युवाहरुका लागि देशमै दिगो र प्रभावकारी सम्भावनाको खोजी गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
युवामैत्री नीति निर्माण, विद्यमान नीतिगत व्यवस्थाहरुको प्रभावकारी कार्यान्वयन र युवा लक्षित यथेष्ट स्रोत साधन र लगानीका लागि सामुहिक आवाजलाई थप बुलन्द पार्ने घोषणा पत्रमा उल्लेख छ ।
सम्मेलनले बागमती प्रदेश युवा परिषद् ऐन २०७६, प्रदेश युवा परिषद् नियमावली २०७७, बागमती प्रदेश युवा नीति, २०७९ को प्रभावकारी कार्यान्वयन गर्दै बागमतीका युवाहरुको चाहना र आवश्यकताको सम्बोधन गरिनु पर्ने माग गरेको छ । २८ वैशाखबाट सुरु सम्मेलनमा उठेका विषयमाथि आइतबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलसँग युवाहरुको अन्तर्क्रियासँगै प्रश्न–उत्तरका साथै युवाहरुको सफलताका कथा प्रस्तुत भएका थिए ।
सम्मेलनमा शिक्षामा कहाँ छ समस्या ?, नीति, राजनीति र समृद्धि, डिजिटल साक्षरताः प्रविधि, अवसर र सम्भावना, नवप्रवर्तन र उद्यमशीलताः नीति र निरन्तरता, विदेशमा आर्जित ज्ञान र सीप देशमा लगानीको सम्भावनाका विषयमा अन्तरक्रिया भएको थियो ।
सम्मेलनमा प्रदेशका १३ जिल्लाका ११९ पालिकामध्ये ९१ पालिकाबाट १६ वर्षदेखि ३० वर्ष उमेर समूहका २०० बढी युवाको सहभागिता रहेको परिषद्ले जनाएको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया