
रामेछाप । नेकपा एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले एमाले पार्टी माथि निरन्तर आक्रमण भइरहेको बताउनुभएको छ । शनिबार नेकपा एमाले रामेछापले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै ढुङ्गेलले एमाले माथि गरिएको नियोजित दुष्प्रचारको प्रतिवाद गर्न आवश्यक रहेको बताउनुभयो । एमाले अध्यक्ष केपी ओली माथि पत्याउनै नसक्ने र पुष्टि हुन नसक्ने आरोपहरू लगाउँदा एमाले कार्यकर्ता मौन बस्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो । ‘मिस इन्फरमेसन र डिस इन्फरमेशन चिर्न सक्ने पार्टी कार्यकर्ता आजको आवश्यकता हो, पार्टी नेतृत्वको रक्षा गर्नु कार्यकर्ताको दायित्व हो’, उहाँले भन्नुभयो ।
५ लाख बढी सदस्य भएको पार्टीका विरुद्ध साना साना झुण्डले सामाजिक सञ्जाल मार्फत गरेको आक्रमण सफल नहुने ढुङ्गेलले बताउनुभयो । अहिले देशमा ठग र उनीहरूलाई संरक्षण गर्नेहरूको ठुलो स्वर देख्दा चकित हुनुपर्ने स्थिति रहेको उहाँले सुनाउनुभयो । ‘रवि लामिछाने जस्तो ठग जेल बाहिर एक जना पनि छैन, तैपनि उनीहरूकै स्वर ठुलो छ’, ढुङ्गेलले भन्नुभयो ।
राजनीतिमा कुनै लगानी नभएका अपराधपूर्ण मानसिकताले ग्रस्त भएका व्यक्ति अहिले राजनीतिक आवरणमा आएका ढुङ्गेलले बताउनुभयो । यसको वास्तविकता नागरिकलाई बताइदिनु पर्ने ढुङ्गेलको भनाई छ ।
पार्टी विचार र दृष्टिकोण व्यक्तिभन्दा बाहिर नरहेको उहाँले बताउनुभयो । ढुङ्गेलले मानव सर्वोच्चताको सिद्धान्त नै मार्क्सवाद भएको बताउनुभयो । ‘मान्छे स्वचालित प्राणी मात्र होइन, मान्छेसँग चेतना मात्र छैन, चिन्तन पनि गर्छ’, उहाँले भन्नुभयो ।
ढुङ्गेलले पार्टी सिष्टम भित्र चल्नु पर्ने बताउनुभयो । पार्टीको बन्द छलफलमा असन्तुष्टि राख्ने सकिने भए पनि बाहिर पार्टी र नेताहरूको विरुद्ध जथाभाबी बोल्ने कम्युनिष्ट पार्टीमा नअटाउने उहाँले प्रष्ट पार्नुभयो ।
देशले अब राजनीतिक स्थायित्व खोजेको बताउँदै ढुङ्गेलले त्यो पुरा गर्ने पार्टी एमाले मात्रै भएको बताउनुभयो ।
स्थिर सरकारले मात्र देशमा विकास र समृद्धि दिन सक्ने ढुङ्गेलले बताउनुभयो । स्थिर सरकार नहुँदा राष्ट्रियता समेत संकटमा परेको कारण नेकपा एमालेको प्रमुख एजेण्डा राष्ट्रियताको नारा भएको उहाँले स्पष्ट पार्नुभयो । छिमेकीसँग सीमा समस्यामा अल्झिरहने फुर्सद एमालेलाई नभएको बताउँदै उहाँले सीमा समस्याको स्थायी समाधान गर्नुपर्ने र त्यो क्षमता एमालेसँग मात्र भएको पनि उहाँले बताउनुभयो ।
फेसबुकबाट तपाइको प्रतिक्रिया