बागमती सरकारलाई ३ महिनामा ६८ प्रतिशत बजेट खर्च गर्नुपर्ने

मकवानपुर । बागमती प्रदेश सरकारलाई चालु आर्थिक वर्षको बाँकी ३ महिनामा ६८ प्रतिशत बजेट खर्च गर्नुपर्ने दबाब छ । आर्थिक वर्षको अन्तिम तीन महिनामा अधिकांश बजेट जसोतसो खर्च गर्ने प्रवृत्ति चालु आर्थिक वर्षमा पनि देखिने भएको हो ।
चैतसम्म बजेट खर्च दर न्यून भएसँगै अन्तिम ३ महिनामा प्रदेश सरकारमाथि दबाब बढेको हो । चालु आर्थिक वर्ष कुल ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको प्रदेश सरकारले ९ महिनामा जम्मा ३२.५१ प्रतिशतमात्र खर्च गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष सकिन ३ महिना बाँकी रहँदा सरकारले झण्डै ६८ प्रतिशत बजेट खर्च गर्नुपर्ने अवस्था देखिएको हो । यसअघि बागमती प्रदेश सरकारले गत आर्थिक वर्षमा ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार बजेट विनियोजन गरेकोमा ९ महिनामा कुल बजेटको ४४.४२ प्रतिशत खर्च गरेको थियो ।
प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि चालुतर्फ २५ अर्ब ९४ करोड ९१ लाख ८२ हजार रुपैयाँ, पुँजीगततर्फ ३७ अर्ब नौ करोड १२ लाख ४९ हजार र वित्तीय व्यवस्थातर्फ एक अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको थियो ।
समग्र खर्चमा कमजोर देखिएको प्रदेश सरकारको पुँजीगत खर्च पनि निराशाजनक छ । प्रदेश सरकारले पुँजीगततर्फ जम्मा २८.२४ प्रतिशत अर्थात् १० अर्ब ४९ करोड ७१ हजार रुपैयाँमात्रै खर्च गरेको छ । यस्तै चालुतर्फ ४०.५१ प्रतिशत अर्थात् १० अर्ब ४९ करोड ७५ लाख ५३ हजार रुपैयाँ खर्च भएको छ ।
१३ मन्त्रालयमध्ये सबैभन्दा बढी स्वास्थ्य मन्त्रालयले ४३.४३ प्रतिशत र सबैभन्दा कम पर्यटन, उद्योग तथा संस्कृति मन्त्रालयले १६.४३ प्रतिशत बजेट खर्च गरेको छ । यस्तै प्रदेश सरकारले वित्तीय व्यवस्था तथा सेयर लगानी र अर्थ विविध शीर्षकमा विनियोजन भएको बजेट खर्च शून्य छ । प्रदेश सरकारले चालु आर्थिक वर्ष वित्तीय व्यवस्था तथा सेयर लगानीमा एक अर्ब ५० करोड र अर्थ विविध शीर्षकमा ४ अर्ब ४७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा गत वर्षको अनुपातभन्दा कम खर्च हुने अनुमान गरेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार गत वर्ष चैत मसान्तमा प्रदेश सरकारको ४४ प्रतिशत बजेट खर्च भएको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा ३२ प्रतिशतमात्र खर्च भएको छ ।

प्रदेशको आर्थिक मन्त्रालयका सचिव कृष्णप्रसाद मैनालीले चालु आर्थिक वर्षको ३ महिना बाँकी हुँदा पनि बजेट खर्च अपेक्षा अनुसार नभएको स्वीकार गरे । उनले भौत्तिक प्रगति भए पनि भुक्तानी हुन बाँकी भएका कारण वित्तीय प्रगति कम देखिएको हुनसक्ने बताए ।
यस आधारमा चालु आर्थिक वर्षको बजेट खर्च दर गत वर्षको तुलनामा कम हुने अवस्था रहेको मन्त्रालयका एक कर्मचारीले बताए । उनका अनुसार बजेट कार्यक्रम कार्यान्वयन गत वर्षको तुलनामा कमजोर छ । विपद्बाट केही आयोजना कार्यान्वयनमा समेत समस्या भएकाले खर्च पनि कमजोर हुने उनले बताए ।

प्रदेशको आर्थिक मन्त्रालयका सचिव कृष्णप्रसाद मैनालीले चालु आर्थिक वर्षको ३ महिना बाँकी हुँदा पनि बजेट खर्च अपेक्षा अनुसार नभएको स्वीकार गरे । उनले भौत्तिक प्रगति भए पनि भुक्तानी हुन बाँकी भएका कारण वित्तीय प्रगति कम देखिएको हुनसक्ने बताए ।
प्रदेश सरकारको आन्तरिक स्रोतबाट चालु आर्थिक वर्षमा ४ अर्ब ५३ करोड ८४ लाख ७९ हजार रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेकोमा यस अवधिमा ६०.२९ प्रतिशत अर्थात् २ अर्ब ७३ करोड ६३ लाख ८० हजार रुपैयाँ प्राप्त भएको छ ।
९ महिनासम्म आइपुग्दा प्रदेश सरकारले जम्मा ४३ प्रतिशत अर्थात् २७ अर्ब ९९ करोड ३८ लाख ९५ हजार रुपैयाँ आम्दानी गरेको छ । मन्त्रालयका अनुसार प्रदेश सरकारले सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण, सशर्त, विशेष र समपूरक शीर्षकबाट ५३.६१ प्रतिशत अर्थात् ८ अर्ब ३४ करोड ९३ लाख ८० हजार अनुदान प्राप्त भएको छ ।
यस्तै प्रदेश सरकारले राजस्व बाँडफाँटबाट चालु आर्थिक वर्षमा २९ अर्ब ५५ करोड ८९ लाख रुपैयाँ आम्दानी गर्ने अनुमान गरेकोमा चैत मसान्तसम्म ५६.६४ प्रतिशत अर्थात् १६ अर्ब ७४ करोड २० लाख ८६ हजार रुपैयाँमात्रै प्राप्त भएको छ ।

प्रदेश सरकारको आन्तरिक स्रोतबाट चालु आर्थिक वर्षमा ४ अर्ब ५३ करोड ८४ लाख ७९ हजार रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेकोमा यस अवधिमा ६०.२९ प्रतिशत अर्थात् २ अर्ब ७३ करोड ६३ लाख ८० हजार रुपैयाँ प्राप्त भएको छ ।

यसैगरी प्रदेश सरकारले बेरुजु तथा गत वर्षको नगद मौज्दातबाट १४ अर्ब ८६ करोड ७४ लाख ५१ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएकोमा अहिलेसम्म जम्मा १.१२ प्रतिशत अर्थात् १६ करोड ५८ लाख ४७ हजार रुपैयाँमात्रै प्राप्त गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया