एनआरएनए जापानको १२औं अधिवेशन जुलाई २० मा हुने, निर्वाचन समिति गठन

टोकियो । गैरआवसीय नेपाली संघ एनआरएनए जापानको १२औं अधिवेशन आगामी जुलाई २० तारिख आइतबार हुने भएको छ । एनआरएनए जापानको अधिवेशन आगामी जुलाई २० तारिख र जुलाई २७ मा निर्वाचन गर्ने गरी तयारी गरिएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

एनआरएन जापानका प्रवक्ता गौतमका अनुसार आगामी अधिवेशन पश्चात नयाँ कार्यसमिति गठन प्रक्रियाका लागि एनआरएन जापानले वरिष्ठ पत्रकार तिलक मल्लको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति निर्माण गरेको छ । उक्त समितिमा भूपिगोविन्द श्रेष्ठ र केशर गिरी सदस्य रहनुभएको छ ।

यसैगरी यहि जून २९ तारिख आइतबारका दिन एनआरएन जापानका १२ वटै क्षेत्रमा क्षेत्रीय अधिवेशनहरु सम्पन्न गर्ने कार्यक्रम रहेको महासचिव टिकाराम खरेलले जानकारी दिनुभयो ।

आगामी नेतृत्वको लागि होडबाजी
एनआरएन जापानको आगामी नेतृत्वका लागि हालका उपाध्यक्षहरु सचिन श्रेष्ठ, सुभाष लामिछाने, सिध्दार्थ श्रेष्ठ आ-आफ्नो पक्षमा माहौल बनाउने कसरतमा होमिई सकेका छन् । लामिछाने र श्रेष्ठ अध्यक्ष पदमा कडा प्रतिस्पर्धा देखिन्छ ।
यसैगरी महासचिवमा हालका प्रवक्ता खगराज गौतम र गतपटक महासचिवमा पराजित श्याम शितलको चर्चा छ ।साथै अन्य पदहरुमा पनि सामाजिक संजालहरुमा उमेद्धारी घोषणा सुरु भईरहेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया