
जनकपुर । नेपाल पर्यटन बोर्डको अगुवाइमा मधेसको पर्यटन प्रवर्द्धनका लागि जनकपुर र वीरगञ्जमा ‘मधेस पर्यटन मिट’ कार्यक्रम गरिएको छ । ‘मधेस पर्यटन मिट’ कार्यक्रमको शुक्रबार जनकपुरमा विविध कार्यक्रम गरेर शुभारम्भ गरिएकामा शनिबार वीरगञ्जमा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम गरेर समापन गरिएको हो ।
वीरगञ्ज महानगर, जनकपुर उपमहानगर र नाट्टा मधेस प्रदेशको समन्वयमा सो कार्यक्रम गरिएको हो । शनिबार भएको समापन कार्यक्रमको उद्घाटन सत्रमा वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले मधेस प्रदेशमा रहेका पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्न जरुरी रहेको बताए ।
“मधेसमा पर्यटकीय सम्भावना बोकेका क्षेत्र धेरै छन् । ती क्षेत्रमा भारतीयसहित विदेशी पर्यटकलाई आकर्षण गर्न सकेको खण्डमा प्रदेशको पर्यटन व्यवसायले फड्को मार्नेछ”, उनले भने ।
वीरगञ्ज आसपासका क्षेत्रमा पनि तीन रातसम्म पर्यटकलाई टिकाउन सक्ने पर्यटकीय सम्भावना बोेकेका क्षेत्र रहेका जनाउँदै प्रमुख सिंहले अहिलेसम्म वीरगञ्ज केवल बाटोका रूपमा मात्रै प्रयोग हुँदै आइरहेकामा चिन्ता व्यक्त गरे । “अब यहाँ पर्यटकको बसाइ बढाउनका लागि सबैले हातेमालो गरेर अघि बढ्न जरुरी भइसकेको छ,उनले भने ।
फेसबुकबाट तपाइको प्रतिक्रिया