कोरोना भाइरसबाट चीनमा मर्नेको संख्या २१३ पुग्यो,सडकमैं शव भेटियो

वुहान । विश्वको शक्ति राष्ट्र चीनलाई मात्र होइन अहिले सिङ्गो विश्वलाई चीनको वुहानबाट फेलिएको कोरोना भाइरसको संक्रमणले अत्याइरहेको छ ।

चीनमा २१३ जनाको ज्यान गएपछि बिहीबार विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ । वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण पुरै चीभर र विश्वका २० भन्दा बढी देशमा देखिइसकेको छ । शुक्रबार बिहानसम्म चीनमा कोरोना भाइरसका कारण २१३ जनाको मृत्यु भएको छ भने झण्डै १० हजार संक्रमित भएका छन् । यसैबीच बिहीबार वुहानको खुला सडकमा एक जना व्यक्तिको शव भेटिएको छ । वुहानको एउटा सडकमा एउटा हातमा प्लास्टिकको झोला समातेकै अवस्थामा शव भेटिएको सञ्चारमाध्यमहरुले जनाएका छन् । कोरोना भाइरसको संक्रमण फैलिनुभन्दा पहिले भीडभाड हुने सडकमा ती व्यक्तिको नजिक जाने हिम्मत कसैले गरेनन् ।

बिहीबार सबैभन्दा पहिले पत्रकारहरुले ती व्यक्तिको शव देखेका थिए । केही समयपछि शरीर पुरै छोपिने ‘प्रोटेक्टिभ्स सुट’ लगाएर प्रहरी र स्वास्थ्यकर्मीको टोली पुग्यो । उनीहरुको नीलो ब्ल्याङ्केटले ती व्यक्तिको शव ढाके । उनीहरुले सुपरमार्केटबाट कार्टुन बक्स ल्याएर शव छोपे । केही समयपछि एउटा सेतो भ्यान आएर पहेंलो ‘सर्जिकल ब्याग’ मा शव उठाएर लगेको थियो । उनको शव रहेको ठाउँमा फोरेन्सिक टिमले केही स्प्रे छर्‍यो । कर्मचारीले सडक सफा गरे । एएफपीले ती व्यक्तिको मृत्यु कसरी भयो भन्नेबारे केही पुष्टि भइनसकेको जनाएको छ । उनी झण्डै ६० वर्षका देखिने जनाएको छ ।

शवको नजिकै उभिएकी एक महिलाले ती पुरुषको मृत्यु कोरोना भाइरसकै कारण भएको हुन सक्ने बताएकी छन् । ‘डरलाग्दो अवस्था छ । हिजोआज थुपै मान्छे मरिरहेका छन्,’ उनले भनिन्।

फेसबुकबाट तपाइको प्रतिक्रिया