कोरोनाको महामारीका कारण चीनको वुहानलगायत सहरमा रहेका नेपाली विद्यार्थी खानसमेत नपाई कोठाभित्रै बस्नुपरेको पीडा सुनाइरहेका छन् ।
तिनका अभिभावक सिंहदरबार धाउँदै स्वदेश फर्काइदिन याचना गरिरहेका छन् । तर, नागरिकको पीडामा सरकार ढुक्कसाथ आलटाल गरिरहेको छ ।
क्वारेन्टाइन टुंग्याउन ६ दिन लगाएको सरकारले अरू तीन दिन बितिसक्दा पनि नागरिक ल्याउने मिति निश्चित गरेको छैन । शनिबार त त्यसबारे कुनै छलफलसम्म भएन । ‘चीनबाट नागरिक ल्याउने विषयमा शनिबार कुनै छलफल भएन,’ स्वास्थ्य मन्त्रालयका सहसचिव डा. दीपेन्द्ररमण सिंहले भने ।
सरकारले सुरुमा उनीहरू चीनमै सुरक्षित रहेको दाबी गर्दै आएको थियो । तर, भारत, अमेरिकालगायत देशले नागरिक फिर्ता लगेपछि सरकार दबाबमा परेको थियो ।
१८ माघमा परराष्ट्र मन्त्रालयले आफ्ना नागरिक फर्काउन सहजीकरणका लागि चीन सरकारलाई औपचारिक पत्र पठायो । बेइजिङस्थित नेपाली दूतावासले नेपाल आउन चाहनेलाई फारम भर्न भन्यो । १८५ जनाले फर्किन चाहेको भन्दै फारम पनि भरे ।
प्रवक्ता महेन्द्र श्रेष्ठले २० माघमै पत्रकार सम्मेलन गरेर वुहानलगायत सहरबाट २४ माघभित्रै नागरिक फिर्ता ल्याउने बताएका थिए । तर, सरकार उनीहरूलाई फर्काएपछि १४ दिनसम्म राख्नुपर्ने ठाउँ खोज्ने नाममा अलमलियो ।
चीनले कोरोना संक्रमितलाई उपचार गर्न १० दिनमा हजार शड्ढयाको अस्पताल ठड्याउँदा नेपालले जम्मा १८५ नागरिक ल्याएर राख्ने ठाउँ खोज्न ६ दिन लगायो । उनीहरूलाई इचंगुनारायणको सुकुमबासी आवास भवन, खरिपाटीको विद्युत् प्राधिकरण तालिम केन्द्र, शिवपुरी र सूर्यविनायकका सैनिक ब्यारेकमा राख्ने बिहीबार मात्रै टुंग्यायो ।
ठाउँ टुंगिएपछि अब छिटै फिर्ता प्रक्रिया सुरु हुने अपेक्षा थियो । तर, सरकारले फेरि आलटाल गरेको छ । आवश्यक व्यवस्थापनले गति लिएको छैन । शनिबार खरिपाटीस्थित विद्युत् प्राधिकरणले दुई भवन खाली गरेको छ ।
वातावरण तथा सामाजिक अध्ययन विभाग र हेस्टेलको भवन खाली गरिएको खरिपाटी विद्युत् प्राधिकरणका सहनिर्देशक केशवराज ओलीले बताए ।
त्यस्तै स्वास्थ्य मन्त्रालयले आफ्नो दायित्व पूरा गरेको जनाएको छ । सहसचिव डा.दीपेन्द्ररमण सिंहका अनुसार स्वास्थ्य टोली चीन जानुअघि स्वास्थ्य जाँच, पोसाक व्यवस्थापन, चीनबाट नागरिक ल्याइसकेपछि विमानस्थलमा परीक्षण र क्वारेन्टाइनको अवधिमा स्वास्थ्य सुरक्षा व्यवस्थापनको जिम्मा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई दिइएको छ ।
चीनबाट ल्याइनेको रगत तथा अन्य नमुना परीक्षणको जिम्मेवारी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई दिइएको छ । चीनबाट ल्याइएको व्यक्तिमा संक्रमण देखिए आवश्यक उपचार र समन्वय गर्न सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाई दिइएको छ । नयाँ पत्रिकामा खबर छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया