बानेश्वरमा भव्य विवाह पार्टी, बेहुला नआएपछि प्रहरी पुग्यो, अनुसन्धानपछि…

काठमाडौँ । राजधानीमा आयोजित एउटा विवाहमा दुलाहा नआएपछि हल्लीखल्ली मच्चिएको छ ।

काठमाडौँको बानेश्वरमा आयोजित उक्त विवाह समारोहमा १२ बजे आउने भनिएको जन्ती नै नआएपछि केटी पक्षले प्रहरीलाई उजुरी गरेको थियो।

आफूलाई इञ्जिनियर बताउने आश्रेय वस्नेतले आफ्नो घर सिनामंगल भएको र आफू डाक्टरको छोरा भएको बताएका थिए। १५ दिनअघि उनीहरुको टिकाटालो पनि भएको थियो। टिकाटालोमा केटी पक्षले केटापक्षलाई चार तोला सुनको गहना पनि दिएको थियो।

प्रहरीलाई उजुरी गरेपछि प्रहरी वस्नेत बस्ने भनिएको घर पुग्दा उनी डेरमा बस्ने रहेछन्, कोठामा पनि ताला लागेको थियो। केटापक्षले हजुरआमा भनेर चिनाएकी मान्छे पनि फेला परिनन्। कार्डमा दिइएको केटाको बाबु–आमाको नाम पनि फेला परिनन्। केटाको वास्तविक नाम पनि साहिल बस्नेत रहेको खुल्यो।

काठमाडौँमा नभेटिएका साहिल अन्ततः पोखरा विमानस्थलमा भेटिए। उनको साथबाट सेत नखुलेको चार हजार अमेरिकी डलर पनि फेला परेको छ।

काठमाडौँ प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीका अनुसार आफूलाई इन्जिनियर भने पनि बस्नेतको दाबी पुष्टि गर्ने आधार देखिएको छैन। उनलाई आपराधिक विश्वासघात ठगी मुद्दा चलाउने भइरहेको छ।

प्रहरीका अनुसार करिब १५ दिन अघि पनि यस्तै उजुरी आएको थियो। फरार रहेका ती दुलहा अझै फेला परेका छैनन्। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया