काठमाडौं । कोरोना भाइरस संक्रमण (कोभिड -१९ ) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन कम्तीमा एक साता लम्ब्याउने तयारी गरेको छ ।
उच्चस्तरीय समन्वय समितिले मंगलबार बिहान ६ बजेबाट लागू हुने गरी एक साता लामो लकडाउन गरेको थियो । यो लकडाउन चैत १८ गते बिहान ६ बजेसम्म कायम रहनेछ तर, त्यसअघि नै लकडाउनको अवधि थप्ने निर्णय हुने स्रोतले जनाएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिने एउटा मात्र विकल्प जनतालाई घरभित्रै राख्नु भएकाले लकडाउनको अवधि थप्न लागिएको एक मन्त्रीले बताए ।
यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन् । लकडाउनको अवधि लम्बिँदा अत्यावश्यक सेवा प्रवाहलाई प्रभावकारी बनाउन उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले कार्ययोजना बनाएको छ । तरकारी, खाद्यान्न, इन्धनलगायतका अत्यावश्यक सामाग्री खरिदका लागि मानिसहरु घर बाहिर ठूलो संख्यामा ननिस्कुन् भनेर होम डेलिभरीको संयन्त्र खडा गर्ने र टोलटोलमा आपूर्ति गर्ने योजना छ । यो कार्ययोजनाबारे शनिबार राष्ट्रपति र प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको थियो ।
यस्तै, सरकारले निर्माण क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने र अति विपन्नलाई केही राहत प्याकेज घोषणा गर्ने तयारी गरेको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया