प्रदेश एकका मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता

विराटनगर। प्रदेश एकका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । सत्तारूढ नेकपाको प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको हो । ३७ जना प्रदेशसभा सदस्यले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोको अगुवाइमा प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरिएको हो । अविश्वास प्रस्तावको प्रस्तावकमा आङ्बो र समर्थक लक्ष्मण तिवारी छन् । उक्त समूहले प्रदेशसभा सदस्य भीम आचार्यलाई मुख्यमन्त्रीका रुपमा अघि बढाउने भएको छ ।

९३ सदस्यीय प्रदेशसभामा नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १/१ जना छन्  । नेकपाका ६७ जनामध्ये पूर्वएमालेका ५१ र पूर्वमाओवादीका १६ जना छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया