प्रधानमन्त्री ओली खोक्रो राष्ट्रवादी नेताः प्रचण्ड

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली खोक्रो राष्ट्रवादी भएको आरोप लगाएका छन् ।

काठमाडौंमा प्रचण्ड-नेपाल समूह निकटको प्रेस संगठन नेपालको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हिजो विरोध गरेर राष्ट्रवादको नारा लगाउने प्रधानमन्त्री केपी शर्मा ओली आज तिनीहरुसँगै लम्पसार परेको बताएका हुन् ।

उनले भने, ‘हिजो उहाँले जुन जुन शक्तिलाई विरोध गरेर राष्ट्रवादको नारा लगाउनुहुन्थ्यो तीनैसँग लम्पसार परेर पार्टी फुटाइछाड्ने दुस्साहस गर्नुभयो । मलाई कसैप्रति केही भन्नु छैन ।’

उनले ओलीको भाषामा राजा महाराजाहरूको दुर्गन्ध आइरहेको बताए । उनले भने, ‘ओलीले देशलाई अराजकताको भूमरीमा लाने प्रयास गर्नुभएको छ । त्यसलाई जसरी भए पनि रोक्नुपर्छ । ओलीको भाषामा राजा महाराजाको गन्ध आइरहेको छ।’

उनले ओलीले प्रतिनिधिसभा विघटन राजामहाराजाले गरे जस्तो विज्ञप्ति निकालेर अधिकार आफूमा अन्तरनिहीत छ भने जस्तै गरेको बताए । पार्टीभित्र बहुमतको निर्णय लागू हुने विधानमा रहेको स्पष्ट पर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता गर्दा ओलीले किर्ते सहमति गरेको बताए ।

उनले ओलीको प्रवृत्ति तानाशाही र निरङ्कुश भएकाले नेपाली जनताले निरकुंश कदमलाई धक्का दिनुपर्ने बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया