
मन्थली । रामेछाप र दोलखाको संगमस्थल पर्यटकीय क्षेत्र सैलुङ क्षेत्रलाई साँझा थलोको रुपमा विकास गरेर अगाडि बढ्ने निष्कर्ष निकालेका छन् । रामेछापका जनप्रतिनिधिहरुले स्थलगत अध्ययन गरि पर्यटकीय क्षेत्र सैलुङ क्षेत्रलाई साँझा थलोको रुपमा विकास गरेर अगाडि बढ्ने निष्कर्ष निकालेको हो ।
सैलुङको स्थलगत अनुगमनमा रामेछापका प्रतिनिधिसभा पूर्व गृह राज्यमन्त्री श्याम कुमार श्रेष्ठ, बागमती प्रदेशका सांसद शान्ति पौडेल, जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खडका, नेकपा रामेछापका इन्चार्ज देवशकंर पौडेल, नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपाने, दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तान लगायतको सहभागीता उक्त निष्कर्ष निकालेको हो ।
दुई जिल्लाको संगमस्थल सैलुङको सबै भाग दोलखाले दावी गरेपछि विवाद सुरु भएको थियो ।
सैलुङ क्षेत्रको विकास गर्नको लागि बागमती प्रदेश सरकारले गत बर्ष विनियोजन गरेको एक करोड दोलखा जिल्लाले मात्र कार्यान्वय गरेपछि रामेछापले आपत्ति जनाउदै आएको छ ।
सैलुङ क्षेत्रको समग्र समस्या पहिचान गरेर समाधान गर्न रामेछापका जनप्रतिनिधिहरुले स्थलगत अनुगमन गरेका हुन । अनुगमनको क्रममा जनप्रतिनिधिको टोलीले तथ्य तथ्याङक र दस्तावेज अनुसार सैलुङ दुवै जिल्लाका आधा आधा भएको निष्कर्ष निकाल्दै साँझा थलोको रुपमा विकास गर्नुपर्नेमा जोड दिएको छ ।
दोरम्बा गाउँपालिकाको सक्रियतामा सैलुङ्गलाई साँझा थलोको रुपमा विकास गर्ने काम समेत अगाडि बढेको छ ।
सैलुङमा देखिएको सीमा विवाद समाधान गर्न आफूले भूमिका खेल्ने बताउदै दुई जिल्लाको विषयमा आपसी संवाद र सहमतिकै आधारमा विवाद टुंगो लाग्ने रामेछापका जनप्रतिधि श्यामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
टोलीले रामेछापको दोरम्बा गाउँपालिका र दोलखाको सैलुङ गाउँपालिकाबीच संवाद गर्ने, दुवै जिल्लाका जिल्ला समन्वयका प्रमुखबीच छलफल गर्ने निष्कर्ष निकालेको छ ।
दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले आफूहरुले तथ्य र प्रमाणको आधारमा सैलुङलाई दुवै जिल्लाको साझा थलोको रुपमा विकास गर्ने योजना अगाडि सारेको बताएका छन् ।
फेसबुकबाट तपाइको प्रतिक्रिया