अदालतमा भएको विषयमा कांग्रेस बोल्दैन भन्ने भ्रम नराख्न गगन थापाको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले अदालतमा भएको विषयमा कांग्रेस बोल्दैन भन्ने भ्रम नराख्न चेतावनी दिएका छन् ।

संसद विघटनको विरोधमा नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ काठमाडौँले शुक्रबार शान्ति बाटिकामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै थापाले कायरले मात्रै अदालतमा भएको विषयमा बोल्दिन भन्ने भन्दै अदालतमा भएको प्रतिनिधि सभा विघटनको मुद्दालाई कांग्रेसले असंवैधानिक कदम भनिसकेको बताए ।

थापाले अदालतले दायाँबायाँ फैसला नगर्ने विश्वास व्यक्त गरे । अदालतमा बहस भइरहेको विषयमा कांग्रेसले असंवैधानिक भनिसकेको बताए । उनले भने, ’पञ्चायतको बेलामा, फाँसी मुद्दा लाग्ने बेला अदालततर्फ हेरेर बोलेका बीपीका कार्यकर्ताहरु आज रामशाहपथ देखेर पर पर भागेर अदालतको बारेमा बोल्दैन भन्ने कायरहरुमात्रै हुन सक्छन्।’

उनले न्यायालयलाई न्यायको हत्या नहोस् भन्नेतर्फ ध्यानकेन्द्रित गर्न आग्रह गरे । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले जनताको अभिमतविरुद्ध अदालतले फैसला गर्न नसक्ने भन्दै अवसरको सदुपयोग गर्न आग्रह गरेका छन् ।

सिटौलाले अदालतले आमजनताको भरोसा र आशा जुटाउने अवसर पाएको भन्दै अवसरको सदुपयोग गर्नुपर्ने बताएका हुन् । उनले अदालतले आफ्नो क्षमता प्रकट गरेर संविधानको रक्षा गर्न सक्छ भनेर जनतालाई सन्देश दिने सुनौलो अवसर पाएको पनि बताए । प्रधानमन्त्रीलाई मन लाग्दैमा संसद भंग गर्न नपाओस् भनेर संविधान निर्माणताका संविधानमा धारा ७६ को व्यवस्था गरिएको उनको भनाई थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया