पुनर्निर्माण गरिएको धरहराको वैशाख ११ गते प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं । पुनर्निर्माण गरिएको धरहराको वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् ।
धरहराको टावरतर्फको भाग उद्घाटन गर्न लागिएको हो । नेपाल पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरका अनुसार धरहराको टावर बनाउने काम अन्तिम चरणमा पुगेको छ । अहिले रंग लगाउने र बत्ती जोड्ने काम भइरहेको छ । गजुर पनि केही दिनभित्रै राखिने छ।
‘२०७२ वैशाख १२ को भूकम्पले ढलेको धरहरा हामी २०७८ वैशाख ११ गते फेरि उद्घाटन गर्दैछौं’ उनले भने, ‘शोकको दिन कार्यक्रम गर्नु उचित नहुने भएकाले वैशाख ११ लाई उद्घाटनको दिन तोकेका हौं ।’

उनका अनुसार धरहराको पार्किङ र बगैँचातर्फको काम भने सकिएको छैन । वरपरको २९ रोपनीमा विस्तारित रुपमा सुन्धारालाई समेटेर पार्क बनाउने सरकारी योजना अनुसार ३ अर्ब ८ करोड लागतमा रमण कन्स्ट्रक्सनले ठेक्का पाएको छ ।
गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गरेर त्यहाँ पार्क बनाउन लागिएको हो । धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेष्टुराँ, पार्किङलगायतका सुविधा हुनेछन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया