धरहरा भत्किंदा बाँचेकी रमिला श्रेष्ठलाई प्रधानमन्त्री ओलीद्धारा सम्मान

काठमाडौं । धरहरा भत्किंदा बाँच्न सफल भएकी रमिला श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका छन् ।  शनिबार पुनर्निर्मित धरहराको उदघाटन कार्यक्रममा बल्खु काठमाडौंकी श्रेष्ठलाई सम्मान गरिएको हो ।

२०७२ वैशाख १२ गते धरहरामा चढेर काठमाडौं उपत्यका अवलोकन गर्ने क्रममा भूकम्प जाँदा उनी घाइते भएकी थिइन् । गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पमा धरहरा पूर्णरुपमा भत्किएको थियो । धरहरा क्षेत्रमा मात्रै ६० जनाको ज्यान गएको थियो । भूकम्पमा परी देशभर ८ हजार ९०० बढीको ज्यान गएको थियो ।

धरहराको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले पुनर्निर्माणमा योगदान पुर्याएकाहरुलाई पनि सम्मान गरेका छन् । पुनर्निर्मित धरहराको प्रवेशद्धारमा राखिएको शिलालेखको प्रधानमन्त्रीले अनावरण गरि धरहराको ऐतिहासिक धरहराको समुद्घाटन गरेका थिए । त्यसपछि प्रधानमन्त्रीले लिफ्टबाट धरहराको २० औ तलामा पुगेर पुष्पपृष्टी गरेका थिए ।

क्षतिग्रस्त भएको धरहरा पुर्ननिर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ फागुन ४ गते ‘मेरो धरहरा मै बनाउँछु’ अभियानको घोषणा गरेका थिए ।

२०७५ साल पुस ५ गते प्रधानमन्त्री ओलीबाट नै सिलन्यास गरिएको धरहरा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको नेतृत्वमा पुनर्निर्मित भएको थियो । धरहरा भत्कदा मृत्यु भएका परिवारलाई रोजगार दिने प्रधानमन्त्री ओलीले आश्वासन दिएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया