
पाँचथर : उपचाररत बालिकाको मृत्यु प्रकरणमा गए राति जिल्ला अस्पतालमा तोडफोड हुँदा अस्पतालका संरचनामा क्षति पुगेको छ । स्वास्थ्यकर्मीको लापरवाहीले बालिकाको ज्यान गएको आरोप लगाउँदै तोडफोडमा उत्रिएको समूहले ढुङ्गामुढा गर्दा अस्पतालको बाहिरी संरचनामा क्षति पुगेको छ । अस्पतालको आकस्मिक कक्ष, कोभिड–१९ सङ्क्रमितको उपचार हुने एचडीयू सहित अस्पतालका झ्याल ढोका सहितका संरचना फुटेका छन् ।
जिल्ला अस्पतालको बाहिर ढुङ्गा, इँटा, काठ, मुढा, रडको थुप्रो लागेको छ । अस्पतालमा रहेका कुर्सी टेबलसहितका सामग्री फुटेका छन् भने अस्पतालको बगैँचा पनि क्षतविक्षत छ । जिल्लाको फालेलुङ गाउँपालिका–८ घर भई फिदिम नगरपालिका–२ बस्ने कमल थाम्सुहाङकी साढे तीन वर्षीया छोरी कृष्टिना थाम्सुहाङको उपचारका क्रममा बुधबार बिहान अस्पतालमा निधन भएको थियो ।
यसपछि आफन्त र अन्य स्थानीयवासीले स्वास्थ्यकर्मीको लापरवाहीले ज्यान गएको जनाउँदै यसको विरोधमा उत्रेका थिए । बिहानबाट अस्पताल प्रशासन, प्रशासनिक निकाय तथा बालिकाका आफन्तबीच छलफल भए पनि बेलुकीसम्म निष्कर्षमा नपुग्दा उत्तेजित बनेको भीडले अस्पतालको संरचनामा जथाभावी प्रहार गरेको थियो ।
आगजनीमा उत्रेकालाई तितरबितर पार्न प्रहरीले पटक–पटक अश्रुग्यास प्रहार गरे पनि उत्तेजित भीड प्रहरीसँगै जाइलागेको थियो ।
फेसबुकबाट तपाइको प्रतिक्रिया