
काठमाडौं । दुई दिनदेखि देशको विभिन्न भागमा आएको बाढी-पहिरोले एकैदिन १५ जनाले ज्यान गुमाउनु परेको छ । चार परिवारका सदस्यहरु सम्पर्कविहीन छन् भने केही घाइते भएका छन् ।
भारतको विहार र उत्तर प्रदेश आसपासमा रहेका न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा परेका कारण पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लगातारको वर्षासँगै आएको बाढी-पहिरोमा परी डोटीमा ८ जना, बैतडीमा तीनजना र सुनसरीमा दुई जना तथा कालीकोट र डडेलधुरामा एक/एक जनाको मृत्यु भएको छ ।
बाढी, पहिरामा परी मृत्यु हुनेमा जिल्लाको शिखर नगरपालिका–११ की मन्दरा बलायर, जोरायल गाउँपालिका–३ का जोगी सार्की, सोही गाउँपालिका–४ का शेरबहादुर विक, मोहन विक, पवित्रा विक, रविन विक छन् ।
यसैगरी सायल गाउँपालिका–६ मेल्लेखमा पहिरो गई स्थानीय वीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिए उहाँका छोरा सागर र आशिष कुन्जेडाको पनि मृत्यु भएको छ । जिल्लाको सायल गाउँपालिका–१ स्थित छत्रे खोलाले बगाउँदा स्थानीय ७४ वर्षीय वीरे रोकाया बेपत्ता भएको अस्थायी प्रहरी पोष्ट छपालिले जनाएको छ ।
केआइसिंह गाउँपालिका–४ मा पहिराको जोखिममा परेकाहरु विस्थापित भई गाउँपालिकाको कार्यालय, स्वरोजगारको कार्यालय, प्रहरी चौकी वायल र स्थानीय मन्दिरमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै बैतडीको शिवनाथ गाउँपालिका-६ मा घर माथिबाट खसेको पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दका अनुसार पहिरोमा परी मृत्यु हुनेमा स्थानीय भालु पार्कीका बुहारी पवित्रा पार्की र बुहारी भानु पार्की र उनको नाती सोम पार्की छन् ।
पहिरोले सुनसरीको धरान उपमहानगरपालिका-१३ नागेश्वर मार्ग बस्ने निसान राईको घर पुरिँदा उनकी ८ वर्षीया छोरी निसु र ४ वर्षीय छोरा निहानको मृत्यु भएको छ
कालीकोटको महाबै गाउँपालिका-७ राम्नीका विष्णुलाल अधिकारीको घर भत्किँदा उनकी १८ वर्षीया छोरी स्मृति अधिकारीको मृत्यु भएको छ । अधिकारीकी १५ वर्षीया छोरी युनिसा घाइते भएकी छन् । युनिसालाई घरले पुरेको अवस्थामा उद्धार गरिएको थियो ।
यस्तै डडेलधुराको गन्यापधुरा गाउँपालिका-१ भात्काडाका विष्णु अवस्थीको कच्ची घरमाथि पहिरो खस्दा उनको मृत्यु भएको छ । घरमाथि पहिरो खस्दा ३२ वर्षीय अवस्थी र उनकी ६ वर्षीया छोरी सरिता घाइते भएका थिए ।
गृह मन्त्रालयले तीन दिनदेखि परेको अविरल वर्षाका कारण १९ जिल्ला प्रभावित बनेको बताएको छ । वर्षाका कारण कालीकोट, डडेलधुरा, कञ्चनपुर, बझाङ, बर्दिया, कैलाली, डोटी, सुनसरी, दैलेख, दार्चुला, बाजुरा, सुर्खेत लगायतका १९ जिल्ला प्रभावित बनेको मन्त्रालयले जनाएको छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय तह लगायतको सहयोगमा करिब ५ सय घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । कतिपय जिल्लाहरुमा सञ्चार सम्पर्क, विद्युत सेवा, सडक अवरोध भएका कारण उद्दारमा कठिनाइ भएको मन्त्रालयले बताएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणले बाढी पहिरो प्रभावित क्षेत्रमा प्रभावित नागरिकको उद्धारका लागि सबै सुरक्षा निकायहरुलाई संयुक्त प्रयास जारी राख्न निर्देशन दिएका छन् ।
फेसबुकबाट तपाइको प्रतिक्रिया