प्रदेश २ को नाम मधेस राख्न माओवादी, जसपा र लोसपा एकमत, बहस जारी

जनकपुरधाम । प्रदेश २ को नाम मधेस राख्न सत्तारुढ जनता समाजवादी पार्टी ९जसपा०, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० ले प्रस्ताव गरेका छन् ।
बिहीबारको प्रदेशसभा बैठकमा जसपाका नेता शैलेन्द्रकुमार यादव, नेकपा माओवादी केन्द्रका सांसद भरत साहले मधेस नाम प्रस्ताव गरेका छन् । विपक्षी दल लोसपाका सांसद रानी कुमारी तिवारीले पनि मधेस नाममै समर्थन जनाइन् ।
प्रदेशसभामा धारणा राख्दै जसपा सांसद यादवले यहाँका जनताको पहिचान मधेस नै भएकाले प्रदेशको नाम मधेस राख्नुपर्ने बताए । आन्तरिक मामिला तथा सञ्चार मन्त्री समेत रहेका माओवादीका सांसद साहले मधेस प्रदेश बनाउन सफल भए खस अहंकारले ग्रसितहरुका लागि सबक हुने बताए ।

लोसपा सांसद रानी तिवारीले प्रदेशको नाम मधेस नामाकरण भए शहीदको सपना साकार हुने बताइन् । १०४ सदस्यीय प्रदेशसभामा जनता समाजवादी पार्टीका ३९, लोकतान्त्रिक समाजवादी पार्टीका १६ र माओवादी केन्द्रका ८ सांसद छन् । प्रदेशसभाबाट नाम पारित हुन प्रदेशसभाको दुई तिहाइ अर्थात ६९ सांसदको समर्थन आवश्यक पर्छ ।
जसपा, लोसपा र माओवादी केन्द्रको समर्थनले मात्र प्रदेशसभाबाट मधेस नाम पारित हुने सम्भावना देखिन्न । नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरी मधेस भन्दा त्रेतायुगदेखि रहँदै आएको संस्कृति र इतिहासलाई जगेर्ना गर्न प्रदेशको नाम मिथिला भोजपुरा राख्नुपर्ने बताए । नेकपा एकीकृत समाजवादी पार्टीका सांसद प्रमोदकुमार यादवले भने प्रदेशको नाम जानकी हुनुपर्ने बताए ।

प्रदेश सभाको बिहीबारको बैठकमा प्रदेशको स्थायी राजधानीको बिषयमा पनि छलफल भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया