धरान उपहानगर मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी, यस्तो छ उनको अभियान

सुनसरी । धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ निर्वाचित भएका छन् । उनले २० हजार ८२१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोर राई १६ हजार ५९ मतमा रोकिए । दुईजनाबीचको मतान्तर ४ हजार ७ सय ६२ छ ।

त्यस्तै उममेयरमा माओवादी केन्द्रका अइन्द्रविक्रम बेघा विजयी भए । उनले २० हजार ५१० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पदम लिम्बूले १७६०६ मत पाए ।

यस्तो
छ हर्कराज साम्पाङको जीवनी
खोटाङको खार्तम्छामा २०३९ सालमा जन्मिएका हुन् उनी। शुक्रबारे माविबाट एसएलसी दिएर उनी २०५५ सालतिर उच्च शिक्षाका लागि धरान झरेका हुन्। उनले महेन्द्र बहुमुखी क्याम्पसबाट राजनीति र समाजशास्त्रमा स्नातक गरेका छन्।पूर्व ब्रिटिस लाहुरेका छोरा हर्कले केही समय धरानमा ट्युसन सेन्टरमा अंग्रेजी र कम्प्युटर पढाए र रोजगारीको लागि ६ वर्षसम्म इराक र अफगानिस्तानमा पनि बिताए। साहित्यमा रुचि भएका उनी गीत लेख्छन् र गाउँछन् पनि। एक दशकअघि ‘मिसिङ हर्ट’ नामको एलबम पनि निकालेका छन्।

उनमा देशलाई केही गरौ भन्ने भावना थियो। कुनै काम सुरु गरेपछि निरन्तर लागिरहने जिद्दी र विद्रोही स्वभाव छ उनको। २०७२ सालतिर धरान हुँदै जाने १०५ मिटरको मदन भण्डारी राजमार्गले धनकुटे रोड किनारका सयौं परिवारलाई उठिबास लगाउने भएपछि संघर्ष समिति बनेर आन्दोलन भएको थियो। समितिमा उनी सहसंयोजक थिए।

उनको ‘टर्निङ पोइन्ट’ त्यही धनकुटे रोड विस्तारविरुद्धको संघर्ष बन्यो। त्यसपछि नै साम्पाङ धरानको सामाजिक मुद्दाहरूमा आवाज उठाउन थाले। भ्रष्टचार र बेथितिविरुद्ध निरन्तर बोल्न थाले। जनजीविकाको ससानो विषयमा आवाज उठाइरहँदा नै आफूलाई विश्वास गरेको साम्पाङ ठान्छन्। ‘मैले ठूलो मुद्दा उठाएको होइन,जनजीविकाको विषयमा आवाज उठाएको हो। जनतालाई ठूलो कुरा चाहिएको पनि होइन रहेछ,’उनी भन्छन्,‘खानेपानीको विषय उठाएँ, नगरपालिका र विपी प्रतिष्ठानको भ्रष्टचारबारे बोलें, सुकुम्बासी संरक्षण र व्यवस्थानबारे बोलें, सडकको खाल्डाखुल्डी र महँगी नियन्त्रणबारे पनि आवाज उठाएँ। त्यसैले जनताले मलाई नियालिरहनुभएको रहेछ।’

स्थानीय मुद्दा मात्र होइन, सीमा अतिक्रमण र एमसिसिविरुद्ध पनि उनी कहिले एक्लै प्रर्दशनमा हिंड्थे, कहिले सीमित संख्यामा आफ्नो समर्थकहरूको साथमा विरोध प्रर्दशन गर्थे। सीमा अतिक्रमणको मुद्दा चर्किंदा उनले इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतनाअघि पनि पुगेर सेनालाई ब्यारेकमा होइन, सिमानामा खटाऊ भन्दै प्रर्दशन समेत गरेका थिए।

सर्दु खोला जथाभावी उत्खनन भएको विरोधमा जाँदा ठेकेदारको समूहले उनका समर्थकहरूलाई घाइते समेत बनाएको थियो। पछि प्रहरीले उल्टै उनी र उनका साथीहरूलाई मुद्दा चलाएको थियो। खानेपानी पाइप तोडफोड गरेको आरोपमा पनि उनी पक्राउ परेका थिए। उनी जे गर्छन्, सामाजिक सञ्जाल फेसबुकबाट लाइभ गर्छन्।

धरान र विदेशमा रहेका हजारौं मानिस उनीसँग त्यसरी जोडिएका छन् र उनको अभियानबारे जानकार छन्। उनले चुनाव चिह्न लौरो पाएपछि सबै वडामा घरदैलो गर्न पाएनन्। फेसबुकबाट नै चुनावी अभियान गरेका थिए। साम्पाङ आफ्नो शक्तिको स्रोत निष्ठा र निरन्तरता भएको बताउँछन्।

फेसबुकबाट तपाइको प्रतिक्रिया