
टोकियो । जापानले चन्द्र र मंगल ग्रहलाई पृथ्वी जस्तै बस्न लायक बनाउने भएको छ । उसले पृथ्वी, चन्द्र र मंगललाई जोड्न अन्तर–ग्रह ट्रेन सञ्चालन गर्ने योजना अघि सारेको छ । क्योटो विश्वविधालयको अनुसन्धानकर्ताहरूले यो प्रोजेक्टका लागि काजिमा कन्स्ट्रक्सन कम्पनीसँग सम्झौंता गरेका छन् ।
जापानमा पृथ्वीदेखि मंगल ग्रहसम्म चल्ने रेलबारे अनुसन्धानकर्ताहरुले योजना सुनाइरहेका छन् । जापानको क्युटेक विश्वविद्यालयको ह्युमन स्पेसोलोजी सेन्टरका अनुसन्धानकर्ता र जपानी काजिमा कर्पोरेसनले जुलाई पहिलो साता पृथ्वीदेखि मंगल ग्रहसम्म चल्ने रेलको योजनाबारे जानकारी गराएका छन् ।
यो ट्रान्सपोर्टेसन प्रणालीलाई ‘हेग्जागन स्पेस ट्रयाक सिस्टम’ नाम दिइएको छ । जहाँ ‘अन्तरिक्ष रेल’ प्रयोग हुने छ । यो रेल पृथ्वी,चन्द्रामा र मंगल ग्रहबीच चल्नेछ । यो रेलका स्टेसनहरू ग्रहलाई परिक्रमा गर्ने उपग्रहहरूमा हुन जापानी पत्रिका ‘द आशाही सिम्बुन’ले समाचार लेखेको छ ।
यी रेलहरु जापानी बुलेट रेलहरुभन्दा ठूला हुने र रकेट इन्जिनबाट सञ्चालन हुने अनुसन्धानकर्ताहरुले बताएका छन् । हरेक स्टेनसहरूमा रेलका ६ वटा कारहरू स्टेसनबाट छुट्टिनेछन् र यिनलाई एउटा षट्कोण आकारको क्याप्सुलले बोकेर लैजाने छ ।
विश्वविद्यालयको स्पेसोलोजी सेन्टरले भनेको छ,’अन्तरिक्षमा यी षट्कोणहरु प्रक्षेपण भइरहँदा हरेक सवारी एउटा बारमा रहनेछन् ताकी उनीहरू सिधा भइरहून् ।’
बेस स्टेसनमा आएपछि षट्कोणबाट ती कारहरू पालैपालोसँग छुट्टिनेछन् । एउटा ग्रहको गुरुत्वाकर्षणको प्रभावबाट उम्कनका लागि हरेक लैजाने र ओराल्ने सवारीमा रकेट इजेक्सन उपकरणहरुको प्रयोग हुनेछ । यसले अन्तरिक्षमा उक्त सवारीको गति पनि बढाउने उनीहरुले जनाएका छन् ।
वायुमण्डल नभएको बेला स्पेस रेलका पंखाहरु फैलने र एउटा लिफ्टको पनि प्रयोग हुनेछ । चन्द्रमा र मंगल ग्रहमा यिनीहरु उच्च गतिको रेल्वे लाइनमा सञ्चालन हुनेछन् जहाँ एक अर्को सहर जोड्ने सञ्जाल हुनेछ ।
यी अन्तरिक्ष रेलहरुले मानिसलाई कृत्रिम रुपमा पृथ्वीको जस्तै गुरुत्व बलको आभास हुने किसिमका हुनेछन् । जसबाट पृथ्वीको जस्तै अनुभव हुनेछ । चन्द्रामा लुनार ग्लास र मंगल ग्रहमा मार्स ग्लासको सुविधा हुनेछन् । यी ग्लासहरूमा पृथ्वीको जस्तै जंगल, पानी फोहोरालगायत जैविक विविधता झल्कने किसिमको वातावरण हुने निर्माणकर्ताले जनाएका छन् ।
स्पेसोलोजी सेन्टरका निर्देशक युशोके यामाशिखीले गत जुलाई पहिलो साताको पत्रकार सम्मेलनमा ‘अन्तरिक्षमा विकासमा यस किसिमको अन्य योजना अन्य कुनै देशहरूले गरेका छैनन्’ भनेका थिए । उनले आफूहरुको योजना भविष्यमा मानिसहरुलाई अन्तरिक्षमा बस्न सक्ने प्रविधिको विकासमा सघाउ पुर्याउने पनि जनाएका छन् ।
अनुसन्धानकर्ताहरुले यो योजना सार्वजनिक गरिरहँदा भने यसको लागत भने धेरै नै खर्चिलो हुनेछ । उनीहरुले एउटा सामान्य प्रोटोटाइप चाहिँ सन् २०५० सम्ममा प्रयोग गर्ने तयारी गरेका छन् । उनीहरुले सार्वजनिक गरेको योजना कार्यान्वयन र निर्माणमा सय वर्ष लाग्ने जनाएका छन् ।
योजना सार्वजनिक भएपनि कस्तो किसिमको वातावरण र अन्य सुविधाहरु आवश्यक पर्ने भन्नेबारे अध्ययन भइसकेको छैन । कस्ता प्रविधिहरुले अन्तरिक्ष रेलमा खाना,पोशाक,बसाई र अन्य सामाजिक जीवन कस्तो हुने भन्नेबारे अध्ययनले भनिसकेको छैन ।
यसमा एउटा उल्टो कोन हुनेछ, जसले पृथ्वीको वास्तविक चुम्बकीय शक्तिको प्रभावको नक्कल गर्दै एउटा सुरक्षित फ्युगल पुल बनाउने छ र पृथ्वी जस्तै चुम्कीय शक्ति उत्पन्न गर्नेछ। ग्लासको लम्बाई करिब १३ सय फिट र रेडियस ३ सय २८ फिट हुनेछ। यसको प्रयोगमा करिब सय वर्ष लाग्ने बताइएको छ।
योजनामा संलग्न टिम ‘इन्टरप्लेनरी ट्रान्सपोर्टेशन सिस्टम’ बनाउने कार्यमा पनि उत्तिकै सक्रिय छ। जुन ‘हेक्साट्रेक’ को रूपमा चिनिने छ। लामो दुरी तय गर्ने सम्बन्धमा यसले पृथ्वीको सतह जस्तै चुम्कीय शक्ति उत्पन्न गर्नेछ। कम चुम्कीय शक्तिका कारण यात्रा गर्ने मानिसले थुप्रै प्रकारको समस्या भोग्नु पर्ने कुरालाई ध्यानमा राखिने छ। ट्रेनमा ‘हेक्सागोनल’ आकारको क्याप्सुल पनि हुनेछ, जसलाई ‘हेक्साक्याप्सुल’ को नामले चिनिने छ, जसको बीचमा एउटा मुभिङ डिभाइस जडित हुनेछ।
यसका लागि दुई किसिमको क्याप्सुल तयार हुनेछ, एउटा पृथ्वीदेखि चन्द्रमासम्म र अर्को पृथ्वीदेखि मंगल ग्रहसम्म। चन्द्रमा जाने क्याप्सुलको रेडियस १५ मिटरको हुनेछ। यस्तै, मंगल ग्रह जाने क्याप्सुलको रेडियस ३० मिटर हुनेछ।
चन्द्रमा हुने स्टेशनले गेटवे उपग्रहको उपयोग गर्नेछ। जसलाई चन्द्र स्टेशनको रूपमा ब्याख्या गरिने छ। यस्तै, मंगल ग्रहमा हुने रेलवे स्टेशनलाई मंगल स्टेशनको नामले चिनिने छ। यो मंगल ग्रहमा रहेको उपग्रह फोबोसमा अवस्थित हुनेछ । मानव अन्तरिक्ष विज्ञान केन्द्रका अनुसार पृथ्वीमा हुने स्टेशन टेरा स्टेशनको नामले चिनिने छ।
फेसबुकबाट तपाइको प्रतिक्रिया