सुलेमानी हत्याः अमेरिकासँग बदला लिने हिजबुल्लाहको प्रतिज्ञा

काठमाडौं। हिजबुल्लाह नेता हसन नसरल्लाहले इरान र इराकका शीर्ष सैन्य अधिकारीको हत्या गरेको बदलामा मध्यपूर्वमा अमेरिकी सेनालाई निशाना बनाउने प्रतिज्ञा गरेका छन् । शुक्रबार अमेरिकी आक्रमणमा इरानको रिभोलुशनरी गार्डको कुद्स फोर्सका प्रमुख कासिम सुलेमानी र इराकको इराकी पपुलर मोबिलाइजेशन फोर्सेजका डेपुटी प्रमुख अबु महदी अल मुहान्दिस मारिएका थिए । हिजबुल्लाह लेबनानको राजनैतिक दल तथा सैन्य समूह हो जसलाई केही पश्चिमा देशहरुले आतंकवादी संगठन मान्छन् ।

‘यो अमेरिकी सेना हो जसले उनीहरुलाई मार्यो र अब उनीहरु यसको मूल्य चुकाउनेछन्’ अल जजीराको समाचारमा उल्लेख भए अनुसार नसरल्लाहले बेरुतबाट प्रसारित एक भिडियो सन्देशमा भनेका छन् । उनले अमेरिकी सैन्य क्याम्प, सैनिकहरु अधिकारीहरु र लडाकू जहाजहरुलाई निशाना बनाउने बताए । हिजबुल्लाह नेताले सम्बोधन गर्दै गर्दा ठूलो संख्यामा समर्थकहरुले अमेरिकाविरोधी नारा लगाएका थिए ।

उनले कुनै पनि सर्वसाधारणलाई कुनै नोक्सानी नपुर्याइने बताए । ‘कुनै पनि सर्वसधारणलाई कहीँ पनि छुनु भनेको केवल ट्रम्पको नीति हो’ उनले भने ‘तर एकपटक जब ट्रम्पले अमेरिकी सेनाका कफिनहरु घर फर्किरहेको देख्नेछन् त्यसपछि उनलाई महसुस हुनेछ कि उनले यो क्षेत्र गुमाइसकेका छन् ।’ नरल्लाहको यतो रवैयाले यस क्षेत्रमा नयाँ टकरावको दौर सुरु हुने विश्लेषकहरुको ठम्याइ छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया