काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित चीनको वुहान सहरमा रहेका नेपालीको उद्धार गर्न सरकारलाई आग्रह गरेका छन् ।
विभिन्न देशले आफ्ना नागरिकलाई उद्धार गरेर स्वदेश फर्काइसकेको उल्लेख गर्दै कांग्रेस सभापति देउवाले वुहानमा रहेका नेपालीको उद्धारका लागि तदारुपकता देखाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले कोरोना भाइरसबाट संयौको ज्यान गइसक्दा समेत सरकार उदासिन रहेको भन्दै आपत्ति जनाएका छन् । ‘त्यहाँ रहेका करिब एक सय नेपाली विद्यार्थीसंगै अन्य नेपालीलाई स्वदेश फर्काउन सरकारले कुनै गम्भीरता नदेखाउनु, दुखद र आपत्तिजनक छ,’ सभापति देउवाले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कोरोना भाइरसको संक्रमणबाट जोगाउँदै वुहानका नेपालीलाई यथाशिघ्र नेपाल ल्याउने प्रबन्ध मिलाउन म सरकारलाई अनुरोध गर्दछु । सभापति देउवाले कोरोना संक्रमणबाट बच्न उच्च सतकर्ता अपनाउन पनि नेपाल सरकारलाई आग्रह गरेका छन् । उनले चीनले कोरोनाबाट बच्न गरेको कार्यको प्रशंसा गरेका छन् ।
साथै सभापति देउवाले कोरोनाका कारण जीवन गुमाएका सबै चिनियाँ नागरिकको परिवार र चीन सरकारप्रति समवेदनासमेत व्यक्त गरेका छन् । उनले अन्तर्राष्ट्रिय नाकामा हेल्थ डेस्क राख्न पनि सरकारलाई आग्रह गरेका छन् ।
फेसबुकबाट तपाइको प्रतिक्रिया