बेसीशहर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले संघीयताको कार्यन्वयनसँगै तिनतहको सरकार हुँदा जनताको समस्या पहिचान गर्न सजिलो भएको दावि गर्नुभएको छ ।
लमजुङ सदरमुकाम बेसीशहरमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले नयाँ व्यवस्थामा जनताले आफ्ना समस्या सजिलै सरकारसँग राख्न पाएको बताउनुभएको हो ।
बेसीशहरस्थित मनाङे चौतारा तमू समाजको भवन उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले आफ्नो दुईवर्षको अनुभवमा जनताले आफ्ना समस्या नजिकको सरकारमा राख्न पाएको बताउनुभयो । जनताको नजिकमा स्थानिय सरकारको रुपमा स्थानिय तह हुँदा जनताको आवश्यकता र समस्यालाई छिटै पहिचान गर्न सहज भएको उल्लेख गर्नुभयो । नागरिकका समस्या मुख्यमन्त्रीसम्म आउने गरेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले अहिलेसम्म भएका विकासको तुलनामा त्यो भन्दा धेरै जनतामा अझै दुःख र समस्या पाएको बताउनुभयो । मुख्यमन्त्री गुरुङले जनताका आधारभुत आवश्यकता र समस्यालाई सरकारले सम्बोधन गर्दै अघि बढिरहेको बताउनुभयो ।
खानेपानी, विद्युत जस्ता आधारभुत आवश्यकतालाई प्रदेश सकारले प्राथमिकतामा राखेको भन्दै मुख्यमन्त्री गुरुङले जनताको सक्रियतामा नै विकास निर्माण र समृद्धिले सार्थकता पाउने दावि गर्नुभयो ।
मनाङे चौतारा तमू समाजकी अध्यक्ष विमला गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा संविधान सभा सदस्य जमिन्द्रमान घले, बेसीशहर नगरपालिका प्रमूख गुमानसिँह अर्याल, क्होलासोँथार गाउँपालिका अध्यक्ष प्रेम घले लगायतले मन्तव्य राखेका थिए ।
फेसबुकबाट तपाइको प्रतिक्रिया