
काठमाडौं । कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले लागू गरेको नियम नमान्ने ३५ जनालाई सम्बन्धित ठाउँमा नै फिर्ता पठाइएको अध्यागमन कार्यालयले जनाएको छ ।
त्रिभुवन विमानस्थलस्थित प्रमुख अध्यागमन अधिकृत सागर आचार्यले आज दिउँसोसम्ममा ३५ जनालाई सम्बन्धित देशमै फिर्ता पठाइएको बताएका छन् ।
सरकारले विदेशी नागरिकलाई स्वाब रिपोर्टसहित सम्बन्धित देशमा रहेको नेपाली कन्सुलर सेवाबाट भिसा लिनुपर्ने व्यवस्था गरेको छ ।
गैरआवासीय नेपालीले पनि सात दिनअघिसम्मको स्वाब रिपोर्टसहित सम्बन्धित देशमा उपलब्ध नेपालको कन्सुलर सेवाबाटै भिसा लिनुपर्ने व्यवस्था गरेको छ ।
त्यस्तै विदेशमा गएका नेपाली स्वदेश फिर्ता हुँदा स्वाब रिपोर्ट लिएर आउनुपर्ने व्यवस्था सरकारले गरेको छ ।
अध्यागमनबाट फिर्ता भएका ३५ जनामा धेरै गैरआवासीय नेपाली संघमा आवद्ध नेपाली मुलको विदेशी नागरिक छन् । उनीहरुले भिसा नेपालमै लगाउने भन्दै नेपाल आएको पाइएको छ ।
नेपाल आएपछि पनि विमानस्थलबाट नियम नमान्नका लागि अनेक लफ्डा गर्ने गरेको पाइएको छ । अध्यागमन कार्यालयका एक अधिकृत भन्छन्, नेपाली मुलका विदेशी नागरिक एनआरएनए ले नियम नमान्ने समस्या देखिएको छ । अन्य विदेशीले नियम पालना गरेका छन् । गैरआवासीय नेपालीले भने धाकधम्कीसमेत दिने गरेका छन् ।
कुन देशबाट कति जना फिर्ता भए ?
फ्रान्स: ६
चीन: ५
बेलायत: ५
जापान: ४
नेदरल्याण्डस्: ३
इटली: २
इजरायल: २
चेक रिपब्लिक: २
हङकङ: १
अमेरिका: १
मेक्सिको: १
अफगानिस्तान: १
अष्ट्रेलिया: १
मलेसिया: १
फेसबुकबाट तपाइको प्रतिक्रिया