कोभिड-१९: अत्यावयक स्वास्थ्य सामाग्री एनआरएनएले सहयोग गर्ने

काडमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए )ले विश्वब्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस विरुद्ध लड्नको लागि नेपाललाई १ करोड वरावरको अत्यावयक स्वास्थ्य सामाग्री सहयोग गर्ने भएको छ ।

एनआरएनएले कोरोना परीक्षणमा प्रयोग हुने टेस्ट किट, चिकित्सक र स्वास्थ्यकर्मीले लगाउने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई), माक्स र थर्मल गन सहयोग गर्न लागेको हो ।

एनआरएनएले एक खरिद समिति बनाउँदै एनआरएन चीन र हङकङसँग समन्वय गरि सो सामान खरिद गरेर नेपाललाई सहयोग गर्न लागेको हो । यसअघि एनआरएनएले कोरोना महामारी विरुद्ध लड्नको लागि नेपाल सरकारले खडा गरेको कोरोना भाइरस राहत कोषमा १ करोड सहयोग गर्ने निर्णय गरेको थियो तर नेपाल सरकारले रकम भन्दा पनि सोही वरावरको सामान उपलब्ध गराउन आग्रह गरेपछि एनआरएनएको बुधबार बसेको बैठकले एक खरिद समिति बनाउँदै चीनबाट ती सामान खरिद गर्ने निर्णय गरेको हो । संघका महासचिव डा हेम राज शर्माका अनुसार उक्त सामान खरिद गर्न एक कार्यदल गठन गरिएको हो । बुधवार बसेको संघको पदाधिकारी बैठकले एनआरएनए चीनको प्रतिनिधीसहितको एक कार्यदल गठन गरिएको जानकारी गराउनुभयो ।

एनआरएनएले सरकारलाई कोरोना भाइरस विरुद्ध जुध्न घोषणा गरेको रू १ करोड सहयोगमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको आग्रहअनुसार स्वास्थ्य सामग्रीका रूपमा उपलब्ध गराइन लागिएको अध्यक्ष कुमार पन्तले  जानकारी गराउनुभयो । एनआरएनए उपाध्यक्ष तथा भौतिक सामग्री सहयोग संकलन उपसमिति संयोजक डा.बद्री केसीले नेपालमा सामान पठाउन अप्ठ्यारो भएको बताउँदै नेपाल सरकारको सामान लिन चीन जाने प्लेनमासँगै सामान नेपाल लैजाने तयारी भइरहेको जानकारी गराउनुभयो ।

चीनस्थित नेपाली राजदूतावासलाई एनआरएनएले खरिद गरेको सामानहरु ह्स्तान्तरण गर्ने र सो सामान सरकारी सामान ल्याउने प्लेनमा सँगै नेपाल लगीने केसीले बताउनुभयो ।

सामान नेपाल पठाउन आत्तुर छौ: प्रदीप न्यौपाने, अध्यक्ष एनआरएनए चीन

गैरआवासीय नेपाली संघ चीनका अध्यक्ष प्रदीप न्यौपानेले एनआरएनए नेपालमा सामान पठाउन आत्तुर रहेको बताउनुभएको छ । अध्यक्ष न्यौपानेका अनुसार चीनमा मेडिकलका सामानहरु उच्च गुणस्तर सँगै सस्तो पनि हुने गरेको छ । यसअघि एनआरएनएले कोरियाबाट ती सामान ल्याउने विषयमा छलफल गरेको थियो । तर कोरियाभन्दा चीनबाट धेरै सस्तो पर्ने भएकाले चीनबाट खरिद गर्न लागिएको हो ।

अध्यक्ष न्यौपानेले सो सामान ब्यक्ती विशेषले नेपाल पठाउन सक्ने अवस्था नरहेको बताउँदै ग्वाङ्घजोस्थित नेपाली महावाणिज्यदूत हरिशरण पुडासैनीसँग समन्वय गरिरहेको जानकारी गराउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बुधबार पत्रकार सम्मेलन गर्दै तीन दिनभित्र अत्यवाश्यक उपकर ल्याउने जानकारी गराउनुभएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया