बैङ्कका कर्मचारीहरूको बिदा कटौती नगर्न कर्मचारी संघको चेतावनी

काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) ले लकडाउनका बेला बिदा बसेका बैङ्कका कर्मचारीहरूको बिदा कटौती नगर्न चेतावनी दिएको छ । लकडाउनका बेला रहरले नभई बाध्यताले बिदा बसेका कर्मचारीहरूको बैङ्कले सञ्चित बिदा कटौती गरेको भन्दै बिरोध जनाएका हुन् ।

‘नेपाल बैङ्क लिमिटेड लगायतका केही बैङ्क तथा वित्तीय संस्थाहरूले आफ्ना कर्मचारीप्रति गरेको व्यवहारप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ’ फियनद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘लकडाउनका बेला बसेको बिदालाई सार्वजनिक बिदाको मान्यता दिनुपर्छ । कार्यालयमा जाँदा बैङ्क व्यवस्थापनले कर्मचारीहरूको लागि चाहिने सवारी साधन, सवारी पास,पीपीई, मास्क लगायतका सुरक्षाको साधन उपलब्ध नगराउने गरेको भन्दै फियनले आपत्ति जनाएको हो ।

कार्यालयसम्म जाने व्यवस्था तथा आवश्यक सुरक्षा सतर्कता समेत नपनाई जबरजस्ती कार्यालयमा बैङ्कहरूले हाजिर गर्न बाध्य बनाउने गरेकोमा आपत्ति जनाउँदै संघले यो कार्य तत्काल रोक्न पनि सरोकारवाला निकायसँग आग्रह गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया